रियाद – प्रवासी नेपाली मञ्च, साउदी अरबको आगामी राष्ट्रिय अधिवेशन नजिकिएसँगै नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ। यही क्रममा मञ्चका वर्तमान उपाध्यक्ष तथा संस्थापक कोषाध्यक्ष छोटु थापाले राष्ट्रिय समितिको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।


ADVERTISEMENT


आगामी २८ अगस्ट २०२६ मा हुने अधिवेशनलाई लक्षित गर्दै थापाले आफ्नो राजनीतिक तथा सामाजिक पृष्ठभूमि, संगठन निर्माणको अनुभव र प्रवासी नेपालीका पक्षमा गरेको योगदानलाई आधार बनाउँदै अध्यक्ष पदमा उम्मेदवारी दिने इच्छा सार्वजनिक गरेका हुन्।


ADVERTISEMENT

# # #


थापाका अनुसार उनको राजनीतिक यात्रा वि.सं. २०३६/३७ सालको निरङ्कुश पञ्चायती व्यवस्था र भूमिगत राजनीतिक कालमै सुरु भएको हो। कक्षा ५–६ मा अध्ययन गर्दादेखि नै कम्युनिस्ट विचार र विद्यार्थी आन्दोलनमा जोडिएका थापाले चितवनको पर्सा बजारस्थित खैरेनी स्कुलमा अनेरास्ववियुको संस्थापकका रूपमा प्रारम्भिक विद्यार्थी राजनीति तथा संगठन निर्माणमा भूमिका निर्वाह गरेको दाबी गरेका छन्।

प्रजातन्त्र पुनःस्थापनापछि खुला राजनीतिमा सक्रिय रहेका थापा वैदेशिक रोजगारीका क्रममा साउदी अरब पुगेपछि प्रवासी नेपालीको हकहित, सामाजिक सेवा र संगठनात्मक अभियानमा सक्रिय रहँदै आएका छन्। उनले प्रवासी नेपाली मञ्च साउदीको संस्थापक कोषाध्यक्ष, सल्लाहकार हुँदै हाल उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन्।

त्यसैगरी थापा नेपाल आदिवासी जनजाति महासंघ साउदी र गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदीका संस्थापक तथा हेल्प नेपालका संस्थापक एवं अध्यक्षका रूपमा समेत सामाजिक क्षेत्रमा सक्रिय रहेको बताएका छन्।

वर्तमान वामपन्थी राजनीतिक परिस्थितिको प्रभाव साउदी अरबमा रहेको संगठनमा समेत परेको भन्दै थापाले संगठनले चुनौतीपूर्ण अवस्था सामना गरिरहेको बताएका छन्। यस्तो अवस्थामा सुस्ताएको संगठनलाई पुनः गतिशील बनाउँदै वैचारिक तथा संगठनात्मक रूपमा सुदृढ बनाउन अनुभवी र संस्थापक नेतृत्वको आवश्यकता रहेको उनको भनाइ छ।

अध्यक्षमा निर्वाचित भए संगठनलाई एकताबद्ध, मर्यादित र प्रवासी नेपालीहरूको भरोसाको केन्द्रका रूपमा स्थापित गर्ने आफ्नो लक्ष्य रहेको थापाले बताएका छन्। उनले बाल्यकालदेखिको राजनीतिक यात्रा, भूमिगत अनेरास्ववियुको संस्थापकीय अनुभव तथा मञ्चको संस्थापकदेखि उपाध्यक्षसम्मको सांगठनिक अनुभवलाई संगठन सुदृढीकरणमा उपयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

थापाले अध्यक्ष पदको उम्मेदवारीलाई आगामी सचिवालय बैठकमा औपचारिक रूपमा प्रस्तुत गर्ने तयारी गरेका छन्। उनले मञ्चका सम्पूर्ण सदस्य तथा कमरेडहरूसँग आफ्नो उम्मेदवारीबारे सल्लाह, सुझाव, मार्गदर्शन र सहयोगको अपेक्षा समेत गरेका छन्।

प्रवासी नेपाली मञ्च साउदीको अधिवेशनको मिति नजिकिँदै गर्दा नेतृत्वका लागि अन्य आकांक्षीहरू पनि मैदानमा आउने सम्भावनासँगै संगठनभित्र चुनावी सरगर्मी थप बढ्ने देखिएको छ।