काठमाडौं- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै सञ्चार क्षेत्रले नयाँ स्वरूप लिइरहे पनि नागरिकका मौलिक अधिकार र सार्वजनिक हितलाई सञ्चार प्रणालीको केन्द्रमा राख्नुपर्ने बताएका छन् ।
काठमाडौँमा सुरु भएको एसिया प्यासिफिक इन्सिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट (एआइबिडी) को २४औँ सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले कृत्रिम बौद्धिकता (एआई), डिजिटल प्लेटफर्म तथा नयाँ प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विश्वसनीय र तथ्यमा आधारित पत्रकारिता अझ आवश्यक भएको बताए ।
उनले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको अधिकार सञ्चार क्षेत्रका आधारभूत मूल्य भएको भन्दै प्रविधि परिवर्तन हुँदैमा यी मूल्यमान्यता परिवर्तन हुन नहुने स्पष्ट पारे ।
मन्त्री तिमिल्सिनाले स्वतन्त्र सञ्चारसँगै जिम्मेवारी पनि जोडिने उल्लेख गर्दै नागरिकलाई सही, निष्पक्ष, सन्तुलित र जवाफदेही सूचना उपलब्ध गराउनु सञ्चारमाध्यमको प्रमुख दायित्व भएको बताए ।
गलत सूचना र दुष्प्रचार नियन्त्रणका नाममा प्रतिबन्ध वा नियन्त्रण मात्रै समाधान नभएको उनको भनाइ छ । बलियो पत्रकारिता, मिडिया साक्षरता, पारदर्शिता, व्यावसायिक मापदण्ड र नागरिकको विश्वास अभिवृद्धिमार्फत गलत सूचना चुनौती सामना गर्नुपर्ने उनले बताए ।
सङ्कट, प्राकृतिक विपद् तथा सार्वजनिक स्वास्थ्यसँग जोडिएका विषयमा सञ्चारमाध्यमको भूमिका अझ संवेदनशील हुने मन्त्री तिमिल्सिनाले बताए । विपद्का बेला नागरिकलाई सही र समयमै सूचना दिनुका साथै समाजमा विश्वास र स्थिरता कायम गर्न सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।
एआई, गलत सूचना तथा दुष्प्रचार सीमापार फैलिन सक्ने भन्दै उनले यस्ता चुनौती सामना गर्न विभिन्न देशबीच ज्ञान, प्रविधि र अनुभव आदानप्रदान आवश्यक रहेको बताए । जलवायु परिवर्तन तथा प्राकृतिक विपद्का प्रभाव पनि बहुदेशीय बन्दै गएकाले क्षेत्रीय सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
विश्वभरका सञ्चारमाध्यमले वित्तीय दिगोपना, बदलिँदो दर्शक तथा पाठकको व्यवहार र सञ्चार संस्थाप्रतिको घट्दो विश्वासजस्ता चुनौती सामना गरिरहेको मन्त्री तिमिल्सिनाले उल्लेख गरे ।
उनले सार्वजनिक सेवा प्रसारण संस्थाका लागि यी चुनौती अझ गम्भीर रहेको भन्दै प्रविधिको प्रयोगसँगै जनविश्वास कायम राख्ने र सार्वजनिक उत्तरदायित्व पूरा गर्ने दिशामा अघि बढ्नुपर्नेमा जोड दिए ।






























































