काठमाडौं-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै सञ्चार क्षेत्रले नयाँ स्वरूप लिइरहे पनि नागरिकका मौलिक अधिकार र सार्वजनिक हितलाई सञ्चार प्रणालीको केन्द्रमा राख्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


काठमाडौँमा सुरु भएको एसिया प्यासिफिक इन्सिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट (एआइबिडी) को २४औँ सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले कृत्रिम बौद्धिकता (एआई), डिजिटल प्लेटफर्म तथा नयाँ प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विश्वसनीय र तथ्यमा आधारित पत्रकारिता अझ आवश्यक भएको बताए ।


ADVERTISEMENT

# # #


उनले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको अधिकार सञ्चार क्षेत्रका आधारभूत मूल्य भएको भन्दै प्रविधि परिवर्तन हुँदैमा यी मूल्यमान्यता परिवर्तन हुन नहुने स्पष्ट पारे ।

मन्त्री तिमिल्सिनाले स्वतन्त्र सञ्चारसँगै जिम्मेवारी पनि जोडिने उल्लेख गर्दै नागरिकलाई सही, निष्पक्ष, सन्तुलित र जवाफदेही सूचना उपलब्ध गराउनु सञ्चारमाध्यमको प्रमुख दायित्व भएको बताए ।

गलत सूचना र दुष्प्रचार नियन्त्रणका नाममा प्रतिबन्ध वा नियन्त्रण मात्रै समाधान नभएको उनको भनाइ छ । बलियो पत्रकारिता, मिडिया साक्षरता, पारदर्शिता, व्यावसायिक मापदण्ड र नागरिकको विश्वास अभिवृद्धिमार्फत गलत सूचना चुनौती सामना गर्नुपर्ने उनले बताए ।

सङ्कट, प्राकृतिक विपद् तथा सार्वजनिक स्वास्थ्यसँग जोडिएका विषयमा सञ्चारमाध्यमको भूमिका अझ संवेदनशील हुने मन्त्री तिमिल्सिनाले बताए । विपद्का बेला नागरिकलाई सही र समयमै सूचना दिनुका साथै समाजमा विश्वास र स्थिरता कायम गर्न सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।

एआई, गलत सूचना तथा दुष्प्रचार सीमापार फैलिन सक्ने भन्दै उनले यस्ता चुनौती सामना गर्न विभिन्न देशबीच ज्ञान, प्रविधि र अनुभव आदानप्रदान आवश्यक रहेको बताए । जलवायु परिवर्तन तथा प्राकृतिक विपद्का प्रभाव पनि बहुदेशीय बन्दै गएकाले क्षेत्रीय सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

विश्वभरका सञ्चारमाध्यमले वित्तीय दिगोपना, बदलिँदो दर्शक तथा पाठकको व्यवहार र सञ्चार संस्थाप्रतिको घट्दो विश्वासजस्ता चुनौती सामना गरिरहेको मन्त्री तिमिल्सिनाले उल्लेख गरे ।

उनले सार्वजनिक सेवा प्रसारण संस्थाका लागि यी चुनौती अझ गम्भीर रहेको भन्दै प्रविधिको प्रयोगसँगै जनविश्वास कायम राख्ने र सार्वजनिक उत्तरदायित्व पूरा गर्ने दिशामा अघि बढ्नुपर्नेमा जोड दिए ।