काठमाडौं – पछिल्लो विवरणअनुसार बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनमा गरी २२ जनाको मृत्यु भएको छ।
प्राप्त विवरणअनुसार नुवाकोटमा ११, धादिङमा ९, चितवनमा १ र रसुवामा १ जनाको मृत्यु भएको छ। मृतकमध्ये ११ जना महिला, ९ जना पुरुष र २ जनाको पहिचान खुल्न बाँकी रहेको जनाइएको छ।
बाढी तथा पहिरो प्रभावित क्षेत्रबाट ६५ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ४३ जना रसुवाबाट रहेका छन्। रसुवामा उद्धार गरिएका व्यक्तिमध्ये ६ जनालाई काठमाडौं र ३६ जनालाई धुन्चेमा उपचार तथा व्यवस्थापनका लागि पठाइएको विवरणमा उल्लेख छ। एक जना प्रहरी कर्मचारीलाई उद्धार गरी सामान्य घाइते अवस्थामा नुवाकोट ल्याइएको जनाइएको छ।
त्यस्तै, धादिङबाट ३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। प्रभावित क्षेत्रमा थप खोज तथा उद्धार कार्य जारी रहेको छ। मृतकको शवको मुचुल्का उठाउने तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने काम भइरहेको जनाइएको छ। सम्बन्धित निकायले प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहत कार्यलाई निरन्तरता दिएका छन्।






























































