काठमाडौं – रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढी तथा देशका विभिन्न स्थानमा बाढीपहिरोबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. १ करोड सहयोग गर्ने घोषणा गरेको छ।
विपद्को कठिन घडीमा प्रभावित परिवार तथा नागरिकको पीडा न्यूनीकरण गर्दै उद्धार, राहत र पुनःस्थापनाका कार्यमा सरकारसँग ऐक्यबद्धता जनाउन सहयोग गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।
एक्स्ट्रिम इनर्जी ड्रिंक्सले बाढीपहिरो प्रभावित नागरिकप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, विपद्मा ज्यानको जोखिम मोलेर उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सरकारी–गैरसरकारी निकायप्रति कम्पनीले सम्मान व्यक्त गरेको छ।
कम्पनीले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै राष्ट्र संकटमा परेका बेला नागरिक र समुदायको साथमा उभिँदै आएको जनाएको छ। आगामी दिनमा पनि देश र नागरिकको हितमा आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।































































