काठमाडौं – सर्वदलीय बैठकले विषम परिस्थितिमा नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई सर्वोपरि राखी एकढिक्का हुने प्रतिबद्धता व्यक्त गरेको छ ।
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा बिहीबार सिंहदरबारमा बसेको बैठकले विपद्को संवेदनशील घडी केवल एउटा भूगोल वा सरकारको मात्र सङ्कट नभई सिङ्गो राष्ट्रको साझा परीक्षणको समय भएकाले आफ्ना वैचारिक मतभेद भन्दा पर रही नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई सर्वोपरि राखी एकढिक्का हुने प्रतिबद्धता जनाएको हो । १० बुँदे निर्णय गर्दै सर्वदलीय बैठकले उद्धार र राहत कार्यमा खटिँदा राजनीतिक प्रतिस्पर्धाभन्दा सहकार्यको भावनालाई प्रोत्साहित गर्न आह्वान गरेको छ ।
त्यस्तै सरकारको आधिकारिक ’प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ वा सरकारले तोकेको आधिकारिक खातामा मात्र आर्थिक सहयोग जम्मा गर्न पनि बैठकले विशेष आह्वान गरेको छ भने आधिकारिक निकायबाट प्रमाणित सूचनाहरू मात्र सम्प्रेषण गर्न र सामाजिक सञ्जालको संयमित, विवेककम्मत र उत्तरदायी प्रयोग गर्न नागरिक तथा सञ्चारमाध्यमहरूलाई अनुरोध गरिएको रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए । बैठकले हिमतालहरूको जोखिम आकलन र न्यूनीकरणका लागि चीनसँग तत्काल उच्चस्तरीय कूटनीतिक पहल गरी संयुक्त वैज्ञानिक तथा प्राविधिक अध्ययन संयन्त्र गठन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको उनले बताए । बैठकमा विपद्पछिको पुनर्निर्माण, जलवायु अनुकूलन, राष्ट्रिय विपद् नीतिमा समयानुकूल सुधार र सरकारका कामकारबाहीलाई निरन्तर सल्लाह, सहयोग र अनुगमन गर्न ‘संसदीय समिति’ गठन गर्ने सहमति भएको रास्वपा प्रवक्ता खरेलले बताए ।
बैठकले विपद्को समयमा कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने वा राहतको दुरुपयोग गर्ने कुनै पनि प्रवृत्ति राष्ट्रप्रतिको गम्भीर अपराध भएकाले त्यस्ता कार्यमा संलग्न जोकोहीलाई ‘शून्य सहनशीलता’ को नीति अनुरूप कडा कानुनी कारबाही गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । त्यस्तै अकल्पनीय क्षतिपछिको उद्धार, राहत, पुनस्र्थापना तथा पुनर्निर्माणमा आवश्यक मानवीय, प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघ, विकास साझेदार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, मित्रराष्ट्र तथा प्रवासी नेपाली समुदायलगायतलाई अपिल समेत गरेको छ ।































































