ललितपुर — रसुवागढीस्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको राहत तथा सहयोगका लागि महालक्ष्मी नगरपालिकाले ३० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
नगर प्रमुख हरिगोविन्द श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको नगर कार्यपालिका बैठकले बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो।
बैठकको निर्णयअनुसार नगरपालिकाका जनप्रतिनिधिहरूको एक महिनाको भत्ता र सम्पूर्ण कर्मचारीहरूको सात दिनको तलब कटौती गरी राहत रकम संकलन गरिनेछ। सोबाट नपुग हुने रकम नगरपालिकाको कोषबाट व्यहोर्ने गरी कुल ३० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाले जनाएको छ।
नगर प्रमुख श्रेष्ठले छिमेकी जिल्लाहरूमा परेको ठूलो प्राकृतिक विपत्तिको समयमा पीडितको साथमा उभिनु स्थानीय सरकारको पनि दायित्व भएको बताए।
उनले रसुवागढी र आसपासका क्षेत्रमा आएको बाढीले पुर्‍याएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कठिन परिस्थितिमा पीडित परिवारलाई सहयोग गर्न महालक्ष्मी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरू एकजुट भएको बताए।
“रसुवागढी र आसपासका क्षेत्रमा बाढीले पुर्‍याएको अभूतपूर्व क्षतिले हामी सबैलाई स्तब्ध बनाएको छ,” नगर प्रमुख श्रेष्ठले भने, “यस कठिन घडीमा पीडित परिवारको घाउमा मलम लगाउने प्रयासस्वरूप महालक्ष्मी नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरू हातेमालो गर्दै ऐक्यबद्धताका साथ उभिएका छौँ।”
चीनतर्फको हिमचट्टान पहिरोका कारण लेन्दे खोला र भोटेकोशीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको बताइएको छ।
बैठकमा नगर उपप्रमुख लक्ष्मी महर्जन, प्रमुख प्रशासकीय अधिकृत अमित ढुंगानासहित कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो।


ADVERTISEMENT