काठमाडौं – एलपी ग्यास उद्योग संघ नेपालले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै दुःख व्यक्त गरेको छ। संघले विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, राहत, उपचार तथा पुनःस्थापनालाई उच्च प्राथमिकता दिन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ।


ADVERTISEMENT


संघका अनुसार २०८३ भदौ १० गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा तथा तनहुँलगायतका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण ठूलो संख्यामा नागरिकको ज्यान गएको, कतिपय बेपत्ता भएको तथा घरबस्ती, उद्योग–व्यवसाय, सडक, पुल, जलविद्युत् आयोजना, यातायातका साधनलगायत महत्वपूर्ण भौतिक संरचनामा गम्भीर क्षति पुगेको संघले जनाएको छ।


ADVERTISEMENT

# # #


संघले बाढी तथा विपद्का कारण ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको उद्धार, राहत, उपचार र पुनःस्थापनाका साथै आवश्यक खाद्यान्न, औषधि, खानेपानी तथा अत्यावश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न नेपाल सरकार, स्थानीय सरकार, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालाबाट सक्रिय पहल हुनुपर्ने संघको भनाइ छ।

त्यसैगरी, प्रभावित क्षेत्रमा एलपी ग्यासजस्ता अत्यावश्यक वस्तुको आपूर्ति तथा वितरणमा समस्या उत्पन्न हुन नदिन सम्बन्धित एलपी ग्यास उद्योगी, व्यवसायी तथा विक्रेताहरूलाई आवश्यक समन्वय र सहयोग गर्न संघले आग्रह गरेको छ।

संघले विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहत र पुनःस्थापनामा सहयोग गर्न सम्पूर्ण उद्योगी, व्यवसायी, संघसंस्था तथा आम नागरिकलाई समेत हार्दिक आह्वान गरेको छ।