काठमाडौं –  भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा भएको मानवीय तथा भौतिक क्षतिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले दुःख व्यक्त गरेको छ ।
नाडाले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।राष्ट्रिय विपद्को यस घडीमा राज्यसँगै काँधमा काँध मिलाएर उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै नाडाले नेपालका सम्पूर्ण अटोमोबाइल व्यवसायीलाई एकजुट भएर सहयोगमा जुट्न आह्वान गरेको छ ।नाडाले तत्काल राहत तथा पुनरुत्थानका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’मा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।
त्यस्तै, सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सरकारी संयन्त्रले विपद्का बेला गरेको उद्धार तथा राहत प्रयासप्रति नाडाले धन्यवाद व्यक्त गरेको छ । सरकारले निजी क्षेत्रलाई समेत विपद् व्यवस्थापनमा सहकार्य गर्न गरेको आह्वानअनुसार आफूहरू सहयोगका लागि तयार रहेको नाडाले जनाएको छ ।यसैबीच, विपद्का कारण आर्थिक गतिविधि प्रभावित हुन नदिन काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ निरन्तर सञ्चालनमा रहने नाडाले स्पष्ट पारेको छ ।
नाडाका अध्यक्ष सुरेन्द्र उप्रेतीले विपद्को सामना गर्न सरकार, निजी क्षेत्र, व्यवसायी र आम नागरिक सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिँदै उद्धार, राहत र पुनर्निर्माणमा सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् ।