काठमाडौं- जनैपूर्णिमाका अवसरमा ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा लाग्ने विशेष मेलाको तयारी पुरा भएको छ ।
भदौ १२ गते साउन शुक्ल पूर्णिमाका अवसरमा ललितपुरको कुम्भेश्वर–बंगलामुखीमा लाग्ने जनैपूर्णिमा मेलाको सम्पूर्ण तयारी पुरा भएको मेला व्यवस्थापन समितिले जनाएको छ । हरेक वर्ष जनै पूर्णिमाको अघिल्लो रात अर्थात बिहीबार रातीदेखि जनैपूर्णिमाको दिनभर कुम्भेश्वर मन्दिर विशेष मेला लाग्ने गर्दछ ।
मेलामा सर्वेश्वर महादेवको नागले बेरेको मुकुटलाई विधिवत रूपमा पूजागरी बाजा–गाजाका साथ कुम्भेश्वर परिसर परिक्रमा गराइन्छ ।
परिक्रमापश्चात् गौरीकुण्डबाट पाटन आएको जलले स्नान गराई खटभित्र राखेर विधिपूर्वक पूजाआजा गरेपछि जनैपूर्णिमा वा रक्षाबन्धन आरम्भ हुने कथन छ । महादेव जलमा विराजमान भएको प्रतिकस्वरूप सर्वेश्वर महादेवको मुकुटलाई मन्दिर परिसरमा भएको पोखरीमा स्नान गराई खटभित्र पूजा गरेर पोखरीमा राख्ने परम्परा छ ।
जनैपूर्णिमामा दिन पोखरीको बीचमा राखिएको सर्वेश्वर महादेवको दर्शन गर्नेको घुईचो लाग्ने गर्दछ । बंगलामुखी मन्दिर परिसरस्थित कुम्भेश्वर मन्दिरमा लाग्ने जनैपूर्णिको मेला किराँत कालदेखि संचालन हुँदै आएको विश्वास छ ।































































