काठमाडौं- बाढी तथा विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगको ओइरो लागेको छ।
अर्थ मन्त्रालयका अनुसार कोषमा पहिलो ६ घण्टामै २७ करोड ३३ लाख रुपैयाँ संकलन भएको छ। विपद्को कठिन घडीमा निजी क्षेत्रका बैंक, उद्योग तथा व्यावसायिक प्रतिष्ठानले उल्लेख्य आर्थिक सहयोग घोषणा गरेका हुन्।
कोषमा गोर्खा ब्रुअरीले १० करोड रुपैयाँ सहयोग गरेको छ। त्यस्तै, कुमारी बैंकले ३ करोड, निफ्रा बैंकले २ करोड ५० लाख, एनआईसी एसिया बैंकले २ करोड २१ लाख र एनसेलले १ करोड रुपैयाँ सहयोग गरेका छन्।
बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा जनधनको क्षति भइरहेका बेला प्रभावित नागरिकको तत्काल उद्धार र राहतका लागि ठूलो स्रोत आवश्यक परेको छ। यही आवश्यकतालाई मध्यनजर गर्दै सरकारसँगै निजी क्षेत्र पनि राहत अभियानमा जोडिएको हो।
उद्धार कोषमा जम्मा हुने रकम प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका काममा परिचालन गरिने बताइएको छ। निजी क्षेत्रबाट सहयोग घोषणा गर्ने क्रम अझै जारी रहेकाले कोषमा संकलित रकम थप बढ्ने अपेक्षा गरिएको छ।
विपद्को समयमा निजी क्षेत्रबाट देखाइएको सक्रियताले प्रभावित नागरिकलाई राहत पुर्याउने सरकारी प्रयासमा थप सहयोग पुग्ने देखिएको छ।































































