काठमाडौं – भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवाको सडक तथा पुल पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ।
बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी जोड्ने करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। त्यस्तै, गल्छीदेखि त्रिशूलीसम्मको करिब १० किलोमिटर सडक बन्द अवस्थामा छ भने पृथ्वीराजमार्गको करिब १३ किलोमिटर सडक लेदोले पुरिएको छ। मन्त्रालयले लेदो हटाएर पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउने कामलाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ।
बाढीका कारण ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सडक सम्पर्क पुनःस्थापित गर्न सरकारले ५० मिटरसम्म लम्बाइका ७ वटा बेलिब्रिज प्रयोग गर्ने तयारी गरेको छ। भारत र चीनले समेत आवश्यक बेलिब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
रसुवालाई सडक सञ्जालसँग जोड्न बेत्रावतीमा बेलिब्रिज जडानको तयारी भइरहेको छ। सडक खुलाउने काममा सरकारी १० र निजी क्षेत्रका १० गरी २० वटा उपकरण परिचालन गरिएको मन्त्रालयले जनाएको छ। क्षतिग्रस्त सडक तथा पुलको पुनःनिर्माणसँगै यातायात सेवा यथाशीघ्र सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको मन्त्रालयले जनाएको छ।































































