काठमाडौं – चीन सरकारले बाढीपहिरो प्रभावित नेपालका लागि ५० टन आपत्कालीन राहत सामग्री पठाएको छ। चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई–२० विमान आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
विमानमार्फत १३ हजार २०० थान राहत सामग्री ल्याइएको छ। त्रिपाल, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, ड्राइफुड तथा बिस्कुट र प्राथमिक उपचार किटलगायत सामग्री रहेका छन्। राहत सामग्रीसँगै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ आवश्यक उपकरणसहित नेपाल आएका छन्। उनीहरूले बाढीपहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग गर्नेछन्।
चीनको छङ्दुस्थित सुवाङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका विमान करिब तीन घण्टाको उडानपछि काठमाडौं आइपुगेका हुन्। नेपालमा आएको विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन चीनले यो सहायता पठाएको हो।































































