काठमाडौं- नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आइतबार सम्पन्न भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ५०औँ स्वर्णजयन्तीका अवसरमा आयोजित १८औँ संस्करणको शोमा नयाँ सवारीसाधन, विद्युतीय प्रविधि, अटो कर्जा तथा वित्तीय सेवाका विभिन्न विकल्प प्रस्तुत गरिएको थियो।
भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भएको प्रदर्शनीमा २०० भन्दा बढी स्टल राखिएका थिए। कार्यक्रममा २५ प्यासेन्जर भेहिकल, १७ लाइट कमर्सियल भेहिकल, १३ दुईपांग्रे ब्रान्ड तथा १५ बैंक तथा वित्तीय संस्था र बीमा सेवा प्रदायक सहभागी भएका थिए।
शोमा बीवाईडी, टाटा, दीपल, नामी, अवतार, जेइकु, चेरी, डङफेङलगायतका ब्रान्डका नयाँ मोडल मुख्य आकर्षण बने। विद्युतीय सवारीसाधन, नयाँ पुस्ताका मोटरसाइकल तथा स्कुटर र नेपालमै उत्पादन तथा एसेम्बल भएका सामग्रीले पनि दर्शकको ध्यान ताने।
यसैबीच, नाडाले विभिन्न पाँच विधामा उत्कृष्ट स्टल घोषणा गरेको छ। चारपांग्रे प्यासेन्जर कारतर्फ बीवाईडी, दुईपांग्रे सवारीसाधनतर्फ यामाहा, कमर्सियल चारपांग्रेतर्फ दीपल, अटो कम्पोनेन्टतर्फ मिशेलिन टायर र बैंक तथा वित्तीय संस्थातर्फ माछापुच्छ्रे बैंकको स्टल उत्कृष्ट घोषित भएका छन्।
उत्कृष्ट स्टल छनोटका लागि नाडाले सम्बन्धित क्षेत्रका प्रतिनिधिसहित तीन सदस्यीय समिति गठन गरेको थियो। बाढीपहिरोको कठिन परिस्थितिका बीच पनि अटो शो सफलतापूर्वक सम्पन्न भएको नाडाले जनाएको छ। अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विपत्तिले संकल्प कमजोर बनाउन नसक्ने भन्दै अटो शो उद्योग, प्रविधि र मोबिलिटी क्षेत्रको भविष्यबारे बहस गर्ने महत्वपूर्ण मञ्च भएको बताए।































































