काठमाडौं – प्रधानमन्त्री बालेन शाहले पछिल्ला पाँच दिनदेखि देशले सामना गरिरहेको भीषण प्राकृतिक विपद्प्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रभावित नागरिकको जीवनरक्षा, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्पूर्ण राज्य संयन्त्र युद्धस्तरमा परिचालन गरिएको बताएका छन्।


ADVERTISEMENT


रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको जनधन तथा भौतिक क्षतिको पूर्ण विवरण संकलन गर्न प्रतिकूल मौसम, जटिल भूगोल र निरन्तरको जोखिम चुनौती बनिरहेको प्रधानमन्त्रीको भनाइ छ। विपद्का कारण आफ्ना प्रियजन, घरबार तथा जायजेथा गुमाएका नागरिकको पीडाप्रति सरकार अत्यन्तै संवेदनशील रहेको उनले बताएका छन्।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीका अनुसार बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४३५ जनाको हवाई तथा स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएको छ। उद्धार तथा राहतका लागि आज मात्रै थप ७२ सहित हालसम्म ३९४ उडान सञ्चालन भइसकेका छन्। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका २० हजार ६१८ सुरक्षाकर्मी परिचालन गरिएको छ।

जलविद्युत् आयोजनाका प्रभावित क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत २७९ जनाको उद्धार गरिएको छ। रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट दुई दिनमा २५० जनाको उद्धार भएको छ। चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी खोज तथा उद्धार गरिरहेको छ। चिनियाँ टोलीले सुरुङभित्र करिब तीन किलोमिटरसम्म खोजी गरे पनि अहिलेसम्म मानिस फेला नपरेको प्रधानमन्त्रीले बताएका छन्।

नुवाकोटको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा उद्धार प्रयास तीव्र पारिएको छ। नेपाली सेनाका इन्जिनियरहरूले ब्लास्टिङमार्फत सुरुङमा पहुँच बनाउने काम गरिरहेका छन्। नेपाली सेना, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरी र नेपाल प्रहरीका विशेषज्ञ गरी ९० जनाको संयुक्त टोली घटनास्थलमा परिचालन गरिएको छ। टोलीले सुरुङको मुख्य भागमा २×३ फिटको प्वाल बनाएर भित्रबाट प्रतिक्रिया लिन प्रयास गरे पनि कुनै प्रतिक्रिया प्राप्त नभएपछि ठूला उपकरण, ब्लास्टिङ र प्वाल फराकिलो पार्ने काम जारी राखिएको छ।

त्यस्तै, माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना, रसुवाको चिलिमे, लाङटाङ खोला र मैलुङ खोला जलविद्युत् आयोजनामा पनि नेपाली सेना तथा विदेशी विशेषज्ञ टोलीको समन्वयमा खोज तथा उद्धार कार्य भइरहेको छ। चिलिमे र लाङटाङ क्षेत्रमा भारतीय टोलीले पम्प तथा एस्काभेटर प्रयोग गरी उद्धार प्रयास गरिरहेको छ भने मैलुङ खोलामा कोरियन विशेषज्ञ टोलीले हवाई रेकी गरी काम सुरु गरेको छ।

२६७ घाइतेको उद्धार, १५६ जना डिस्चार्ज

बाढी प्रभावित क्षेत्रबाट २६७ जना घाइतेको उद्धार गरी उपचार भइरहेको प्रधानमन्त्रीले बताएका छन्। काठमाडौंलगायत विभिन्न अस्पतालमा उपचाररत उनीहरूमध्ये १५६ जना डिस्चार्ज भइसकेका छन्। प्रभावित क्षेत्रमा उपचार तथा मनोपरामर्शका लागि काठमाडौंका चिकित्सकसहितको टोली परिचालन गरिएको छ भने अवरुद्ध स्वास्थ्य संस्थाहरूको सेवा पुनः सञ्चालन गर्ने काम भइरहेको छ।

राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी

प्रधानमन्त्री राहत कोषमा आइतबार मध्यान्हसम्म ९ वटा वाणिज्य बैंकका खातामार्फत ५ अर्ब २४ करोड ७९ लाख ४४ हजार ५८५ रुपैयाँ जम्मा भएको प्रधानमन्त्रीले जानकारी दिएका छन्। त्यस्तै, हिमालयन र लक्ष्मी बैंकमा थप २१ लाख २३२ अमेरिकी डलर जम्मा भएको छ।

सरकारले संकलित रकमलाई प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा प्रभावकारी रूपमा परिचालन गर्नेबारे छलफल गरिरहेको जनाएको छ।

२६ आश्रयस्थल सञ्चालन

रसुवा र नुवाकोटका विभिन्न स्थानमा २६ वटा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ। आइतबार मात्रै ती केन्द्रबाट ३ हजार ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेका छन्।

काठमाडौंमा संकलित राहत सामग्री हवाई तथा स्थलमार्गबाट नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिल ब्यारेक र रसुवाको उत्तरगयामा पुर्‍याइएको छ। त्यहाँबाट धादिङको बैरेनी तथा रसुवाको धुन्चेस्थित नेपाली सेनाको ब्यारेकमार्फत प्रभावित क्षेत्रमा राहत पुर्‍याउने व्यवस्था मिलाइएको छ।

अन्तर्राष्ट्रिय सहयोग बढ्दै

विपद्मा नेपाललाई अन्तर्राष्ट्रिय सहयोगसमेत बढिरहेको प्रधानमन्त्रीले बताएका छन्। एसियाली विकास बैंकबाट ५० लाख अमेरिकी डलर अनुदान तथा प्राविधिक सहयोगका लागि थप १ लाख ५० हजार अमेरिकी डलर, विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण कर्जा, अमेरिकी सरकारबाट ५ लाख डलर र अष्ट्रेलिया सरकारबाट १० लाख डलर नगद सहयोग उपलब्ध गराउने प्रतिबद्धता आएको छ।

भारतबाट चार चरणमा हालसम्म ६८.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधि प्राप्त भएको छ। भारतले २३० फिट लामो सिंगल लेन मोडुलर स्टिल ब्रिज पठाउनुका साथै थप सात वटा बेलीब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। चीनबाट पनि ३० वटा बेलीब्रिजका लागि सहयोग मागिएको प्रधानमन्त्रीले बताएका छन्। स्विट्जरल्यान्डबाट संयुक्त राष्ट्रसंघमार्फत खर्च हुने गरी १० लाख स्विस फ्र्याङ्क प्राप्त भएको छ।

अधिकांश स्थानमा सञ्चार सेवा पुनः सञ्चालन

बाढीबाट प्रभावित अधिकांश क्षेत्रमा सञ्चार सेवा पुनः सञ्चालनमा आएको छ। नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा २० वटा स्याटलाइट फोन प्रभावित क्षेत्रमा पठाइएको छ।

बाढीका कारण नेपाल टेलिकमका ३८ र एनसेलका २७ वटा बिटिएस टावरको सेवा अवरुद्ध भएकोमा अहिलेसम्म नेपाल टेलिकमका १०६ र एनसेलका ७५ वटा टावर सञ्चालनमा आइसकेका छन्। बाँकी टावरसमेत चाँडै सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।

सडक सञ्चालनमा चुनौती

बाढी र पहिरोले मुख्य सडकमा क्षति पुर्‍याएपछि वैकल्पिक सडकमार्फत प्रभावित क्षेत्रलाई जोड्ने प्रयास भइरहेको छ। तर भोटेकोशीमा पानीको सतह बढेसँगै पहिरो जाँदा वैकल्पिक सडकसमेत प्रभावित भएका छन्। कृष्णभीर क्षेत्रमा कटानका कारण यातायात अवरुद्ध भए पनि सडक यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित संयन्त्र परिचालन गरिएको प्रधानमन्त्रीले बताएका छन्।

बाढीमा मृत्यु हुनेको संख्या ७८१

प्रधानमन्त्रीका अनुसार बाढीका कारण हालसम्म ७८१ जनाको शव फेला परेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा शव व्यवस्थापन भइरहेको छ। पहिचान भएका शव आफन्तको जिम्मा लगाउने तथा पहिचान हुन नसकेका शव कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्ने काम अघि बढाइएको छ।

पहिचान गर्न नसकिने शवको डीएनए लगायत पहिचानमा सहयोग पुग्ने आधार सुरक्षित राखेर ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम व्यवस्थापन भइरहेको प्रधानमन्त्रीले बताएका छन्।

प्रधानमन्त्रीले विपद्को यस कठिन घडीमा सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिएको बताउँदै प्रभावित प्रत्येक व्यक्तिसम्म राहत पुर्‍याउने तथा पुनर्निर्माण र पुनःस्थापनाको काम पूर्ण नतिजा नआएसम्म निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले देशको एकता र सामूहिक प्रयासबाट मात्रै संकटलाई परास्त गर्न सकिने भन्दै खोजी, उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सुरक्षाकर्मी, स्वयम्सेवक, स्वास्थ्यकर्मी, विदेशी विशेषज्ञ तथा सहयोगी सबैप्रति आभार व्यक्त गरेका छन्।