काठमाडौं – चुमनुब्री गाउँपालिका–७ छेकम्पारस्थित चौरीखर्क पारिको जंगलमा ठूलो पहिरो खस्दा स्यार खोला केहीबेर थुनिएको छ। पहिरो आज बिहान खसेपछि करिब आधा घन्टासम्म खोलामा पानीको बहाव निकै कम भएको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार केही दिनदेखि उक्त क्षेत्रमा पहिरो खस्दै आएको थियो। आज पहिरो थप बढेपछि खोलाको बहाव प्रभावित भएको हो। अहिले भने स्यार खोलामा पानी पहिलेझैं सामान्य रूपमा बगिरहेको छ।
स्थानीय होटल सञ्चालक पासाङ लामाका अनुसार पहिरो खसेको क्षेत्रमा अझै स–साना पहिरो खसिरहेका छन्। स्यार खोला बूढीगण्डकी नदीको सहायक खोला भएकाले तल्लो क्षेत्रमा रहेका बस्तीलाई सतर्क रहन स्थानीयले आग्रह गरेका छन्।
गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ७ छेकम्पारस्थित चौरीखर्क पारि जंगलमा पहिरो खस्दा स्यार खोला आज बिहान केहीबेर थुनिएको छ।































































