उदयपुर – प्रहरीले उदयपुरको कटारीबाट १ हजार १ सय २२ किलो लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा भदौ १५ गते बिहान कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तिवन क्षेत्रमा खोजतलास गर्दा बा.१६ च ५२६९ नम्बरको बोलेरो र जंगलका विभिन्न स्थानमा ५२ वटा प्लास्टिकको बोरामा लुकाइराखेको अवस्थामा गाँजा बरामद गरेको हो।
गाँजासहित ताप्ली गाउँपालिका–१ का ५५ वर्षीय रामबहादुर मगर, २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगरलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेकामाथि लागूऔषध ओसारपसारसम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।































































