काठमाडौं- नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेँसीमा खटिएको भारतीय प्राविधिक टोलीसँग भेट गरी चिलिमे पावर हाउसको सुरुङमा भइरहेको उद्धार प्रयासबारे जानकारी लिएका छन्।
राजदूत श्रीवास्तवले चिलिमे नजिकै उद्धार अभियानमा खटिएको भारतीय तथा नेपाली टोलीको कार्यस्थलमै पुगेर अवस्थाबारे जानकारी लिएका हुन्।
भारतीय प्राविधिक टोलीले विशेष उपकरणको प्रयोग गरी सुरुङभित्र १०० मिटरसम्म प्रवेश गरेर उद्धारका लागि आवश्यक काम अघि बढाएको छ। सुरुङभित्रको जमिन दलदलजस्तो र भूभाग चुनौतीपूर्ण रहे पनि टोलीले निरन्तर काम गरिरहेको राजदूत श्रीवास्तवले बताएका छन्।
सुरुङभित्र थप अगाडि बढ्न अब भारी उपकरण प्रयोग गर्ने तयारी गरिएको छ। भारतीय टोलीले नेपाली सेनासँग सहकार्य गर्दै कठिन परिस्थितिमा पनि उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ।
राजदूत श्रीवास्तवले कठिन भूभाग र प्रतिकूल अवस्थाका बाबजुद नेपाली तथा भारतीय टोलीले देखाएको निरन्तर प्रयासको प्रत्यक्ष अवलोकन गरेका हुन्।































































