काठमाडौं- बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत र उद्धारका लागि काठमाडौंमा बसोबास गर्दै आएका चक्रघट्टीवासीले आर्थिक सहयोग जुटाएका छन्।
सुनसरीको वराहक्षेत्र नगरपालिका–चक्रघट्टीबाट काठमाडौं आएर बसोबास गरिरहेका नागरिकहरूबाट संकलित १ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरिएको हो।
चक्रघट्टी काठमाडौं एकता समाजले सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट बाढीपीडितका लागि सहयोग गर्न आह्वान गरेको थियो। सोही अभियानमार्फत संकलन भएको रकम आज कोषमा जम्मा गरिएको समाजले जनाएको छ।
समाजले विगतदेखि नै विभिन्न सामाजिक तथा सेवामूलक कार्यमा सहयोग गर्दै आएको बताइएको छ। विपद्को समयमा प्रभावित परिवारलाई राहत पुर्याउने उद्देश्यले गरिएको सहयोगले सामाजिक उत्तरदायित्व र सामुदायिक एकताको सन्देश दिएको छ।
यद्यपि, सहयोग अभियानबाट रकम संकलन भए पनि कुन व्यक्तिले कति रकम सहयोग गरे भन्ने विस्तृत विवरण भने समाजले सार्वजनिक गरेको छैन।































































