काठमाडौं – प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ७० लाख रुपैयाँ सहयोग गरेको छ।
संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम उपलब्ध गराएको हो। संस्थाका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतसहितको टोलीले अर्थमन्त्रीलाई भेटेर सहयोग रकम हस्तान्तरण गरेको जनाएको छ।
विपद्का कारण ठूलो जनधनको क्षति भइरहेका बेला सरकारमार्फत सञ्चालन भइरहेको राहत तथा उद्धार अभियानमा थप सहयोग पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराइएको संस्थाले जनाएको छ। संस्थाले उक्त सहयोगलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको योगदानका रूपमा लिएको छ।
पछिल्लो समय प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि बैंक तथा वित्तीय संस्थाहरूले राहत कोषमा आर्थिक सहयोग उपलब्ध गराउँदै आएका छन्। सोही क्रममा लघुवित्त क्षेत्रबाट पनि सहयोग जुट्न थालेको हो।
नेशनल माइक्रोफाइनान्स नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था हो। काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको संस्थाले न्यून आय भएका तथा वित्तीय पहुँचबाट बाहिर रहेका वर्गलाई बचत तथा कर्जामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।
संस्थाका अनुसार यसको अधिकृत पुँजी २ अर्ब रुपैयाँ तथा चुक्ता पुँजी करिब १ अर्ब ५२ करोड रुपैयाँ रहेको छ। ग्रामीण तथा न्यून आय भएका परिवार, साना उद्यमी र स्थानीय अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको लघुवित्त संस्थाको सामाजिक उत्तरदायित्व पनि महत्वपूर्ण मानिन्छ।
विपद्का बेला राहत तथा पुनःस्थापनाका लागि गरिएको आर्थिक सहयोगले वित्तीय संस्थाको सामाजिक भूमिकालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
































































