काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि यशोदा ग्रुपअन्तर्गतका यशोदा फुड्स र श्रीराम टोबाको प्रालिले ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
कम्पनीले उक्त रकम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा हुने गरी सहयोग गरेको हो । सहयोग रकम बराबरको चेक यशोदा ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले संयुक्त रूपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
यससँगै कम्पनीले बाढीबाट अति प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा थप राहत सामग्रीसमेत उपलब्ध गराएको जनाएको छ । प्रभावित नागरिक तथा आश्रयस्थलमा रहेका परिवारका लागि अत्यावश्यक खाद्य सामग्रीका रूपमा ३० लाख रुपैयाँ बराबरको ‘करेन्ट चाउचाउ’ पठाएर सम्बन्धित निकायमार्फत वितरण गरिएको कम्पनीले जनाएको छ ।
बाढी तथा पहिरोबाट प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न राहत सामग्री वितरण गरिएको र आवश्यक परे थप चाउचाउ तथा अन्य सहयोग उपलब्ध गराउन कम्पनी तयार रहेको यशोदा ग्रुपले जनाएको छ ।
विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि निजी क्षेत्रको समेत भूमिका महत्वपूर्ण हुने भन्दै कम्पनीले आगामी दिनमा आवश्यक पर्ने अन्य सहयोगका लागि पनि आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ ।
यशोदा ग्रुपले आर्थिक सहयोगसँगै प्रत्यक्ष रूपमा राहत सामग्री उपलब्ध गराएर बाढी प्रभावित नागरिकलाई सहयोग गरेको जनाएको छ । कम्पनीका अनुसार राहत, उद्धार र पुनर्स्थापनाको अभियानमा आवश्यकताअनुसार थप सहयोग निरन्तर गरिनेछ ।
































































