काठमाडौं – नेपाली कांग्रेसको संस्थापनइतर समूहले आफ्नै ढंगले १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
पूर्वसभापति शेरबहादुर देउवा निवास महाराजगञ्जमा सोमबार बसेको संस्थापनइतर समूहको बैठकले सानेपामा भएको निर्णयका आधारमा संस्थापन पक्षले तय गरेको महाधिवेशनमा सहभागी हुन सक्ने अवस्था नरहेको निष्कर्ष निकाल्दै आफ्नै ढंगले महाधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेको एक नेताले जानकारी दिएका छन्।
यसअघि कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई सोही हैसियतमा १५औँ महाधिवेशनमा सहभागी हुन दिने निर्णय गरेको थियो।
संस्थापनइतर समूहले भने आफूहरू कुनै पदका लागि नभई पार्टीलाई जोगाउने अभियानमा अघि बढेको जनाएको छ। समूहका नेता उमाकान्त चौधरीले यसअघि प्रस्तावित १५औँ महाधिवेशनको कार्यतालिकालाई अघि बढाउने निर्णय गरिएको जानकारी दिएका छन्।
बैठकपछि कांग्रेस नेता डा. प्रकाशशरण महतले संस्थापन पक्षको निर्णयबारे अनौपचारिक छलफल भएको र सोमबार अपराह्न ४ बजे पत्रकार सम्मेलनमार्फत समूहको औपचारिक धारणा सार्वजनिक गर्ने जानकारी दिएका छन्।
कांग्रेसको कार्यसम्पादन समितिको बैठकले १५औँ महाधिवेशनमा सहभागी हुन वा आयोजकका रूपमा समावेश हुन चाहने १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई केन्द्रीय सदस्यकै हैसियतमा जिम्मेवारी दिने निर्णय गरेको थियो।
संस्थापनइतर समूहको यो निर्णयसँगै कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद थप पेचिलो बन्ने देखिएको छ।































































