लन्डन- सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सीसीआई) का अध्यक्ष चण्डीराज ढकालले दक्षिण एसिया, बेलायत तथा कमनवेल्थ मुलुकबीच आर्थिक तथा निजी क्षेत्रको सम्बन्ध थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।


ADVERTISEMENT


लन्डनमा आयोजित उच्चस्तरीय भेटवार्ताका क्रममा अध्यक्ष ढकालले संस्थागत संवादमा मात्र सीमित नभई व्यापार, लगानी, व्यावसायिक साझेदारी तथा नयाँ बजार विस्तारका लागि व्यावहारिक अवसर सिर्जना गर्नुपर्ने बताए।


ADVERTISEMENT

# # #


सार्क सीसीआईको प्रतिनिधिमण्डलले बेलायतको विदेश, कमनवेल्थ तथा विकास कार्यालय (एफसीडीओ) अन्तर्गत कमनवेल्थ युनिट, दक्षिण एसिया टोली, ग्रोथ डाइरेक्टोरेट, बीआईएसटी तथा कमनवेल्थ ट्रेड टोलीका प्रतिनिधिसँग छलफल गरेको थियो।

छलफलमा दक्षिण एसिया र बेलायत तथा कमनवेल्थ क्षेत्रबीच व्यापार तथा लगानी विस्तार, व्यवसायिक सम्पर्क, डिजिटल व्यापार र निजी क्षेत्रबीच सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा केन्द्रित रहेको थियो।

त्यस्तै, प्रतिनिधिमण्डलले स्कटल्यान्ड हाउस लन्डनमा डा. लिज क्यामरन सीबीईसँग पनि भेटवार्ता गरेको थियो। भेटमा स्कटल्यान्ड र दक्षिण एसियाबीच व्यावसायिक सम्बन्ध विस्तार, व्यापारिक प्रतिनिधिमण्डलको आदानप्रदान, व्यवसाय–व्यवसायबीच प्रत्यक्ष सम्पर्क, लगानी प्रवद्र्धन, साना तथा मझौला उद्यमको विकास र बजार पहुँचका विषयमा छलफल भएको थियो।

यसअघि प्रतिनिधिमण्डलले मार्लबरो हाउसमा कमनवेल्थ सचिवालयको ट्रेड टोलीसँग भेट गरी विश्वव्यापी व्यापारको अवस्था, कमनवेल्थ कनेक्टिभिटी एजेन्डा, डिजिटल व्यापार तथा कमनवेल्थको आर्थिक सहकार्यमा निजी क्षेत्रको सहभागिता बढाउने विषयमा छलफल गरेको थियो।

प्रतिनिधिमण्डलमा श्रीलंका, बंगलादेश, माल्दिभ्स, पाकिस्तान र नेपालका वरिष्ठ प्रतिनिधिहरू सहभागी थिए। लन्डनमा भएका यी भेटवार्ता सार्क सीसीआईले आठवटै सार्क सदस्य राष्ट्रका लागि अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्दै व्यापार, लगानी र व्यवसाय–व्यवसायबीच सहकार्यका नयाँ अवसर सिर्जना गर्ने निरन्तर प्रयासअन्तर्गत भएको हो।