काठमाडौं – सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफा तथा सञ्चित रकमबाट आफ्ना शेयरधनीलाई १० प्रतिशत शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले शेयरधनीलाई १० प्रतिशत शेयर लाभांश दिने निर्णय गरेको हो। प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ।
पेन्ट्स उत्पादन तथा बिक्रीमा सक्रिय सर्वोत्तम पेन्ट्सले उत्पादनको गुणस्तर सुनिश्चित गर्ने मापदण्डका रूपमा रहेको नेपाल गुणस्तर प्रमाण चिह्नसमेत प्राप्त गरिसकेको छ। कम्पनी २०८३ साउन २८ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको थियो।
कम्पनीले २०७२ सालदेखि कैलालीको अत्तरियाबाट पेन्ट्स उत्पादन सुरु गरेको हो। पछिल्लो समय सुदूरपश्चिमसँगै लुम्बिनी र कर्णाली प्रदेशमा आफ्नो बजार विस्तार गरेको कम्पनीले देशका अन्य क्षेत्रमा समेत व्यापार सञ्जाल बढाउँदै लगेको जनाएको छ।
बढ्दो बजार मागअनुसार उत्पादन आपूर्ति सहज बनाउन कम्पनीले हेटौंडा औद्योगिक क्षेत्रमा अत्याधुनिक प्रविधिमा आधारित नयाँ उद्योग स्थापना गरिरहेको छ। उक्त उद्योग निर्माणको काम अन्तिम चरणमा पुगेको कम्पनीको भनाइ छ।
नेप्सेमा सूचीकृत भएको छोटो समयमै लाभांश प्रस्ताव गरेको कम्पनीले आगामी दिनमा उत्पादनको गुणस्तर र बजार विस्तारलाई प्राथमिकता दिने जनाएको छ। यसबाट कम्पनीको कारोबार तथा मुनाफा थप बढाउने लक्ष्य रहेको सञ्चालक समितिका अध्यक्ष शिव शिंह कार्कीले बताए ।
कम्पनीको सञ्चालक समितिको अध्यक्षमा बैंकिङ क्षेत्रको अनुभव भएका शिव शिंह कार्की रहेका छन् । आभूषण व्यवसायमा अनुभव भएका लक्ष्मी दत्त पाण्डेय सञ्चालक तथा पेन्ट्स उद्योगको बिक्री र व्यवस्थापन क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव हासिल गरेका नवीनप्रसाद भट्ट प्रबन्ध निर्देशकका रूपमा कार्यरत रहेका छन् ।































































