काठमाडौं- नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडबीच बैंकमा कार्यरत कर्मचारीहरूको जीवन बीमासम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत डेपुटी सीईओ स्मृति राज कँडेल र नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एसीईओ दीपेन्द्रराज काफ्लेले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीहरूको जीवन सुरक्षालाई लक्षित गरी जीवन बीमा सुविधा उपलब्ध गराइनेछ । कर्मचारीहरूको जीवन तथा आर्थिक सुरक्षालाई थप मजबुत बनाउने उद्देश्यले गरिएको सहकार्यले बीमामार्फत जोखिम व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सम्झौता कार्यक्रममा दुवै संस्थाका सम्बन्धित पदाधिकारी तथा अधिकारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी पदाधिकारीहरूले कर्मचारीको सुरक्षा, कल्याण तथा दीर्घकालीन हितका लागि जीवन बीमाको महत्व रहेको उल्लेख गर्दै यस्तो सहकार्यले दुई संस्थाबीचको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।
नेसनल लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहक तथा संस्थागत साझेदारहरूको आवश्यकता र हितलाई प्राथमिकतामा राख्दै विभिन्न प्रकारका जीवन बीमा तथा जोखिम व्यवस्थापनसम्बन्धी सेवा प्रदान गर्दै आएको जनाएको छ ।































































