काठमाडौँ– भैरहवा ग्लाडिएटर्स काठमाडौँमा जारी एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा काठमाडौँ किंस–११ लाई ६ विकेटले पराजित गर्दै भैरहवा दोस्रो पटक इपीएलको फाइनल प्रवेश गरेको हो । अघिल्लो वर्ष भैरहवाले फाइनलमा विराटनगर वारियर्ससंग १ रनको हार ब्यहोरेको थियो ।


ADVERTISEMENT


त्रिवी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको काठमाडौँले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा १०० रन बनायो । १०१ रनको सामान्य लक्ष्य पच्छ्याएको भैरहवाले १७ ओभरमा ४ विकेटको क्षतीमा १०२ रन बनायो ।


ADVERTISEMENT

# # #


भैरहवालाई जित दिलाउन रायन टेन डेस्काटेले ४५ रन बनाए । उनले ३८ बलमा ५ चौका प्रहार गरे । यस्तै रवीइन्दर सिंहले १८ बलमा ३ चौका र १ छक्काको मदतमा ३१ रन जोडे । कप्तान शरद भेषवाकर ६ तथा रोहित पौडेल ९ रनमा अविजित रहे । यसअघि आरिफ शेख ५ तथा प्रदीप ऐरी ३ रनमा पेवेलियन फर्किए ।

काठमाडौँका लागि सम्साद शेखले २ तथा प्रदीप साहूले १ विकेट लिए ।

यसअघि काठमाडौँका लागिसन्दीप रजालीलले सर्वाधिक २७ रन बनाए । २६ बलमा उनले १ चौका र १ छक्का प्रहार गरे । यस्तै प्रदीप साहुले १३ रन बनाउँदा अमित श्रेष्ठले १३ रन प्रहार गरी आउट भए । कुर्कुचाको चोटको कारण पहिलो बाहेक यसअघिका सबै खेल गुमाएका सोमपाल कामीले ८ बलमा सात रन बनाएर रोहित पौडेलबाट रनआउट भए । काठमाडौँका अन्य कसैले दोहोरो अंक छुन सकेनन् ।

काठमाडौँको इनिङ ध्वस्त पार्ने क्रममा कुशल मल्लले उत्कृष्ट बलिङ गरे । ४ ओभर बलिङ गर्दै उनले २० रन खर्चिएर ३ महत्वपूर्ण विकेट लिए । एकै ओभरमा लगातार केभिन ओब्राइन (०) र नरेश बुढाऐर(२)लाई पेवेलियन फर्काएर उनले खेललाई भैरहवातर्फ मोडेका थिए ।

यस्तै मोहम्मद नाभिदले ४ ओभरमा २० रन नै खर्चिएर २ विकेट लिए । यस्तै शरद भेषवाकर र अभिनास बोहराको नाममा समान १–१ विकेट रह्यो । किफायती बलिङ गरेका शरदले २ ओभरमा मात्र ४ रन खर्चिए ।

भैरहवाले शनिबार उपाधिका लागि ललितपुर प्याट्रियट्ससँग खेल्नेछ ।