• सौगेन्द्र मण्डल, बिधार्थी नेता

लामो समय देखि बिधार्थी राजनीतिमा देखिनु भएको छ । विद्यार्थी आन्दालन चाही अहिले कहाँ पुगे जस्तो लाग्छ ?


ADVERTISEMENT


म विद्यार्थी राजनीतिमा लागेको करिब ८, ९ वर्ष नै भयो । २०६८ सालदेखि दैनिक रुपमा विद्यार्थी आन्दोलन र विद्यार्थीको हक हितका लागि हालसम्म लड्ने क्रममै छु । २०६८ सालमा हामीले आरक्षणको आन्दोलन सुरु गर्दाखेरि मेडिकल लगायत सम्पूर्ण प्राविधिक शिक्षामा आरक्षण हुनुपर्छ भनेर हामीले आन्दोलन नै चलायौँ । त्यसको फलस्वरुप २०७३ भदौ ८ गते सर्वोच्चबाट हामीले निर्देशनात्मक आदेश जारी गराउन सफल भयौँ । त्यसपछि सर्वोच्चले ४५ प्रतिशत आरक्षण हुनुपर्छ भन्ने निर्देशन दियो ।


ADVERTISEMENT

# # #


त्यसको अझै पनि पूर्ण रुपले कार्यान्वयन भइसकेको छैन । मेडिकल शिक्षामा केहीहदसम्म आरक्षणको कुराहरु भएपनि त्यसमा केही बाधा अड्चनहरु थुप्रै छन् । त्यसपछि म नेपाल लोकतान्त्रिक विद्यार्थी फोरमको केन्द्रीय उपाध्यक्षको रुपमा कार्यरत हुन थालेँ । सम्पूर्ण विद्यार्थी आन्दोलनमा मेरो निरन्तर साथ र सहभागिता रहँदै आएको छ । सयुक्त विद्यार्थी आन्दोलनमा पनि मेरो अहम् भूमिका रहँदै आएको छ । सबै विद्यार्थी संगठनहरुले राजनीतिक मुद्दाहरुलाई बढी ग्राह्यता दिएर त्यसमै होमिएको जस्तो देखिन्छ । विद्यार्थीका मुद्दाहरु कहाँ कहाँ छोडेको हो कि, बिर्सिएको हो कि जस्तो देखिन्छ । थुप्रै विद्यार्थी मुद्दाहरुलाई सबै विद्यार्थी संगठन मिलेर उठाउनु पर्छ । हामीले धेरै लामो यात्रा तय गर्नुछ । त्यसका लागि सबै विद्यार्थी संगठनका साथीहरु एक ठाउँमा आउन जरुरी छ ।

फोरम लोकतान्त्रिक अहिले कांग्रेसमा गइसकेकाले विद्यार्थी संगठनमा अब तपाईको भूमिका के छ ?

नेपाल विद्यार्थी संघ र नेपाल लोकतान्त्रिक विद्यार्थी संगठनको समायोजन भइसकेको छ । जसमा १५ जनालाई केन्द्रीय कार्य समितिमा ल्याइएको छ । यो समायोजनभन्दा म बाहिरै छु । नेपाल लोकतान्त्रिक विद्यार्थी संगठनका पूर्व अध्यक्ष कप्लेश्वर यादवले मलाई किन बाहिरै राख्नु भयो त्यो थाहा छैन । तर पनि काँग्रेस उपसभापति हाम्रा नेता विजय गच्छदार र नेबिसंघका बर्तमान महामन्त्री कप्लेश्वर यादबले कार्यसम्पादनको उचित मूल्याङ्कन गरेर मेरो व्यवस्थापन गर्नुहुन्छ जस्तो लाग्छ । मैँले आफ्नो पोजिसन पाइसकेपछि विद्यार्थी आन्दालनको आफ्नो निरन्तरतालाई जारी राख्नेछु ।

नेविसंघसंग समायोजन हुँदैगर्दा तपाईसंग कुनै सल्लाह भएन ?

पार्टी समायोजन भइसकेपश्चात पनि कुनै किसिमको क्रियाकलाप भएको थिएन । केन्द्रदेखि वडासम्म सम्मानजनक समायोजन गर्ने कुरा भएको थियो । तर त्यो हुन सकिरहेको छैन । म २ नं प्रदेश लोकतान्त्रिक विद्यार्थी फोरमको संयोजकको भूमिकामा पनि थिएँ । त्यो बेला आठै जिल्लाका साथीहरु मेरो सम्पर्कमा बारम्बार हुनुहुन्थ्यो । उहाँहरुले हाम्रो व्यवस्थापन कसरी हुन्छ भन्ने चासो राख्दा नेताहरुले सबै संबोधन गर्नुहुन्छ भनेको थिएँ । नेविसंघका नेताहरुसंग पनि मेरो राम्रै सम्बन्ध थियो । विद्यार्थी आन्दोलनमा पनि लोकतान्त्रिक विद्यार्थी संगठनको नेतृत्व मैँले नै गर्ने गरेको थिएँ । तर, हाम्रो अध्यक्ष कप्लेश्वर यादबले एकलौटी ढंगले, कुनैपनि पदाधिकारीसंग सल्लाह नगरी यो समायोजनमा जानु भयो । त्यसमा हामी दुःखी छौँ ।

नेविसंघमा गएपछि के गर्छुजस्तो लाग्छ ?

नेविसंघ देशकै ठूलो विद्यार्थी संगठन हो । नेपाली कांग्रेसको सबैभन्दा सक्रिय भातृसंगठन पनि नेविसंघ हो । नेपाल विद्यार्थी संगठनमा रहेर विद्यार्थीको हकहितका लागि मेरो कार्य क्षमतालाई अझ शसक्त रुपमा काम गर्छु जस्तो लाग्छ । पार्टी नेता विजय गच्छदारले मलाई जुन किसिमको निर्देशन दिनुहुन्छ, त्यसलाई म आफ्नो सम्पूर्ण क्षमता लगाएर निर्वाह गर्नेछु ।

तपाई मेडिकल क्षेत्रको मान्छे राजनीतिमा आउनु भयो । खासमा के सोचेर राजनीतिमा आउन मन लाग्यो ?

ममा यो अचानक परिवर्तन भएको होइन । मेडिकल क्षेत्रको विद्यार्थी भएपनि प्लस टु देखि नै मैँले राजनीति प्रति चासो राखेको थिएँ । धेरैले तपाईले झैँ प्रश्न गर्नुभएको छ । मलाई लाग्छ, राजनीतिमा पढेलेखेका युवाहरु, केही गर्ने जोश र जागर भएका युवाहरुको कमी अहिले पनि छ । भिजन भएका युवाहरु जसले भोलिका दिनमा देशलाई हाँकेर अगाडी लैजान सक्ने सोच भएका युवाहरुको राजनीतिमा अहिले पनि आवश्यकता छ ।

७० नाघेका नेताहरुको वर्चश्व अहिले पनि हरेक पार्टीमा देख्ने गर्छु । मधेशका जनताले जहिले पनि भोग्दै आएको दमन र बिभेदको अन्त्यको लागि लडाई लड्न सकुँ, मधेशी जनताका हक र अधिकारलाई सुनिश्चित गर्न सकुँ भनेर नै म राजनीतिमा आएको हुँ । यसमा मधेशका जनताले, युवाहरुले मलाई साथ दिनुहुनेछ भन्ने कुरामा विश्वस्त छु । यसै अनुसार अगाडी बढ्ने कार्य याजना बनाएको छु ।

युवाहरु राजनीतिमा आइराख्दा अबको राजनीति कसरी अगाडी बढ्नुपर्छ जस्तो लाग्छ ?

देशमा विकास र समृद्धिको लक्ष्य हासिल गर्नका लागि सबैभन्दा पहिले दबिएर रहेका, विभिन्न कारणले पछाडी परेका मधेशी, जनजाती, दलित, महिला, विपन्न वर्गहरुको पनि सम्मानजनक तथा उचित प्रतिनिधित्व गराउनु आवश्यक छ । त्यसपछि मात्रै देशमा समानता आउँछ । अनिमात्रै देश समृद्धिको मार्गमा जाने हो । समृद्धिका कुरा गरिरहँदा अहिले पनि जनताबीच समानता छैन । सबैभन्दा पहिले सबै नागरिक समान हुनुपर्यो । अर्को कुरा युवाहरुमा शिक्षाको गुणस्तरमा ह्रास आएको जस्तो देखिन्छ । १८ वर्ष नपुग्दै जब उसको नागरिकता बन्छ, त्यसपछि पासपोर्ट बनाएर खाडीको बाटो तताउनुपर्ने बाध्यता छ ।

उनीहरुलाई हामीले देश विकासको लागि सदुपयोग गर्न सकिरहेका छैनौँ । त्यसका लागि हामीलाई सुहाउँदो, आवश्यकता अनुसारको शिक्षा उपलब्ध गराउन सकेनौँ । जबसम्म हामी उनीहरुलाई देशमै राजगार बनाएर विकास निर्माणमा लगाउन सक्दैनौँ तबसम्म हाम्रो समृद्धिको लक्ष्य हासिल हुन सक्दैन । राजनीतिमा आएका युवाहरुलाई उचित जिम्मेवारी दिनुपर्यो । नयाँलाई पनि राजनीतिमा आउन प्रोत्साहन गनुपर्यो । युवाहरु नेतृत्वमा आए भने देश बन्छ जस्तो मलाई लाग्छ ।

भोलिका दिनमा युवाहरुका लागि, विद्यार्थीहरुका लागि के गर्छु जस्तो लाग्छ ?

निश्चय पनि मैले राजनीतिमा आइसकेपछि युवाहरुको लागि विद्यार्थीहरुको लागि गर्ने योजना बनाएको छु । त्यो म नेतृत्वलाई सुनाउँछु । यदि मैले कुनै पद पाएँ भने काम गर्ने योजना बनाइसकेको छु । म त्यो भूमिकाको पर्खाइमा छु । पार्टीका उपसभापति गच्छदारज्यूले व्यवस्थापन गरेर मलाई केही जिम्मेवारी दिनुहुन्छ जस्तो लाग्छ । त्यसपछि मेरो गृहजिल्ला सिरहाको प्रत्येक वडादेखि नै कार्य सुरु गर्ने योजना लिएको छु ।

अन्तर्वार्ताको अडियो सुन्नुस् :