काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले ऐतिहासिक तथ्यले पनि कालापानी र लिपुलेक नेपाली भू–भाग भएकोले आफूहरु सोही मान्यतामा अडिग रहेको स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


बुधबार रिपोर्टर्स क्लबमा बोल्दै भट्टराईले नेपाली भूभागलाई भारतीय नक्शामा राखेकोमा आफूहरुको गम्भिर ध्यानाकार्षण भएको स्पष्ट पारेका छन् । ‘कालापानी नेपाली भ–ूभाग हो । ऐतिहासिक तथ्यले पनि त्यही भन्छ । हाम्रो मान्यता पनि यही हो ।’ उनले भने, ‘१९६२ देखि त्यहाँ बसेको भारतीय सेना हट्नुपर्छ । कालापानीलगायत सबै सिमा विवाद टुँग्याउनुपर्छ ।’


ADVERTISEMENT

# # #


उनले सीमा विवादहरु सहमतिअनुसार कुटनीतिक टेबुलमा बसेर समाधान गर्नुपर्ने धारणा राखे । उनले थपे, ‘त्यसको आधारमा जानुपर्छ भन्ने हाम्रो मान्यता हो । अर्को विकल्प छैन् ।’ वर्तमान सरकार प्रभावकारी कुटनीतिक पहलकदमी लिनेबारे सचेत रहेको पनि उनले सुनाए ।

सीमा विवादबारे दुवै मुलुकको सहमतिमा मात्रै निश्कर्षमा पुग्नुपर्ने बताउँदै एकपक्षीय निर्णय अमान्य हुने उनको भनाई छ । नेपाल र भारतबीच कतिपय सीमा खोलाले छुट्याउने गरेको र कहिलेकाहीँ खोलाले आफ्नो बहाव परिवर्तन गर्दा समस्या हुने गरेकोपनि उनले सुनाए । नेपाल र भारत दुवैतर्फ रहेका स्थायी संयन्त्रमार्फत सिमा विवाद समाधान गर्नेपनि उनले जनाए ।

त्यस्तै, उनले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी) मा पनि सीमा विवादसम्बन्धी एउटा बुँदामा विस्तृत सुझाव समेटिएको जनाए । नेपाल र भारत दुवै सार्वभौमसत्ता सम्पन्न देश भएकोले कुटनीतिक पहलमार्फत समस्याहरु समाधा गर्नुपर्ने उनको भनाई छ ।

सरकारले जनता र भुगोलको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको पनि उनले स्पष्ट पारे । ‘अध्ययनको आधारमा र तथ्यांकको आधारमा लिपुलेक हाम्रो हो ।’ उनले भने, ‘यसमा हाम्रो दाबी हुन्छ । सरकार यसबाट दायाँ बायाँ हुँदैन् ।’ लिपुलेकबारे भारत र चीनबीच भएको सहमति बेठिक भएको उनको दाबी छ ।