काठमाडौँ — सरकारले भारतले जारी गरेको नयाँ राजनीतिक नक्सालाई नेपालका लागि अस्वीकार्य हुने बताएको छ । परराष्ट्र मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ति निकाल्दै भारतको नयाँ नक्सा मान्य नहुने बताएको हो ।


ADVERTISEMENT


भारतको नयाँ नक्साबारे गम्भीर ध्यानाकष्र्ण भएको जनाउँदै परराष्ट्र मन्त्रालयले एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने समेत प्रष्ट पारेको छ । दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरु दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्ने नेपालको जोड छ ।


ADVERTISEMENT

# # #


‘कालापानी क्षेत्र नेपालको हो भन्ने कुरामा नेपाल सरकार स्पष्ट छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धि विषयहरुको दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्ने र एक पक्षीय ढंगबाट गरिने कुनैपनि निर्णय नेपाल सरकारलाई मान्य नहुने कुरा स्पष्ट छ । ’

नेपाल तथा भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगका बैठकहरुबाट दुई देशबीचका समाधान हुन बाँकी सीमासम्बन्धी समस्याहरुको समाधानका लागि प्राबिधिकहरुको सल्लाहमा दुवै देशका परराष्ट्र सचिवहरुले काम गर्ने जिम्मेवारी दिइएको समेत नेपालले जनाएको छ ।

नेपाली भूभागलाई गाभेर भारतले नयाँ नक्सा जारी गरेपछि सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा यही विषयलाई लिएर विरोध भइरहेको छ ।