पोखरा – आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की क्षेत्र नं. २ को प्रतिनिधि सभाका लागि नेकपाकी उम्मेदवार विद्या भट्टराईले आफ्नो निर्वाचन अभियान सुरु गरेकी छन् । भट्टराईले स्व. नेता रवीन्द्र अधिकारीको जन्मस्थान पोखरा महानगरपालिका वडा नं. ३३ भरतपोखरीबाट निर्वाचन अभियान सुरु गरेकी हुन् ।


ADVERTISEMENT


भट्टराई स्व. अधिकारीकी श्रीमती हुन् । रविन्द्रको निधनपछि निरास उक्त ठाउँका बासिन्दा विद्याको उम्मेदवारीसँगै उत्साहित बनेका छन् । आफ्नो चुनावी अभियान शुरू गर्न गृह स्थान पुगेकी विद्यालाई स्वागत गर्दै उक्त ठाउँका बासिन्दाले रविन्द्रको सपना पुरा गर्न र समग्र देशलाई समृद्धिपथमा अगाडि बढाउन आग्रह गरेका थिए ।


ADVERTISEMENT

# # #


भेटघाट कार्यक्रममा निर्वाचनका प्रत्यासी भट्टराईले आवश्यकता र चाहनाका कारण अव आफु रविन्द्रको उत्तराधिकारी भएर निर्वाचनमा होमीएको भन्दै कास्की क्षेत्र नं. २ को भरोसा र विश्वासलाई कहिल्यै डगमगाउन नदिने उल्लेख गरिन् । उनले स्व. अधिकारीको शोकलाई शक्तिमा बदलेर निर्वाचनको अभियानमा सरिक हुन स्थानीयलाई आग्रह समेत गरिन् ।

उनले भरतपोखरी रविन्द्रको जन्मस्थानका साथै नेपाली राजनीतिक इतिहासको एक महत्वपूर्ण कोशेढुंगा भएको हुँदा उक्त क्षेत्रका सबै बासिन्दाको समृद्धि आफ्नो मूलमन्त्र भएको बताइन् ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य भिम कार्कीले पार्टीका क्षमतावान, बौद्धिक नेतृ विद्या भट्टराईलाई उम्मेदवार बनाएको भन्दै आउने दिनमा उनको भूमिकाले क्षेत्र र जिल्लाको विकासमा महत्वपूर्ण स्थान राख्ने हुँदा बिजयी गराउन आग्रह गरे ।

उम्मेदवार कास्कीका संयोजक धनराज आचार्यले रविन्द्रको विरासत अगाडि बढाउन विद्याको महत्वपूर्ण भूमिका हुने कुरामा दुविधामा नरहेको भन्दै पार्टी र आम जनसमुदायहरूलाई विश्वस्त हुन आग्रह गरे । कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय नेता रश्मि आचार्यले भरतपोखरीले नेपाली राजनीतिक इतिहासमा रविन्द्र अधिकारी जस्ता अनुकरणीय नेता दिएकाले फेरि भरतपोखरीसामू उक्त अवसर आएको बताए ।

उम्मेदवार भट्टराईले भरतपोखरी स्थित शहीद तुलराज आचार्यको फोटोमा माल्यार्पण गरेर निर्वाचन कार्यालय पुगी उम्मेदवारी दर्ता गराएकी थिइन् ।

तत्कालीन पर्यटनमन्त्री एवं कास्की २ का प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीको गत फागुनमा ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन हुन लागेको हो । नेकपाले स्व। अधिकारीको ठाउँमा उनकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको हो ।