काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सरकारका सकारात्मक काम कारवाहीलाई बेवास्ता गर्दै आरोप–प्रत्यारोपमा ओर्लिएको बताएका छन् ।


ADVERTISEMENT


मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आफ्नै मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले प्रतिपक्षी काँग्रेसले सत्ताको जवानी सम्झेर आरोपको खेती गरेकोसमेत टिप्पणी गरे ।


ADVERTISEMENT

# # #


काँग्रेसले सत्ता सञ्चालनको २१ महिनामा २१ आरोप लगाएको विषयप्रति सञ्चारकर्मीको जिज्ञासामा सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री बाँस्कोटाले काँग्रेसको आरोप सन्तुष्टि लिन र उपनिर्वाचनको मुखमा तुष्टि लिनका निम्ति मात्रै भएको स्पष्ट पारे । उनले भने, “काँग्रेसले आरोप लगाउन पाएकै थिएन । सात सालयता नेपालको राजनीतिक सत्ताको मियो नै काँग्रेस बनेको थियो । इतिहासमा पहिलोपटक नेपाली जनताले फैसला गरेको त्यो राजनीतिक सत्ता नेकपाको हातमा आयो । जवानी सम्झेर धुरुधुरु रुनुपर्नेजस्तो भएकाले आरोपको खेती उहाँहरुले गर्नुभयो ।”

राजनीतिमा विकृति ल्याएको भन्ने आरोपको खण्डन गर्दै मन्त्री बाँस्कोटाले पञ्चायतपछिको पहिलो सरकार त्यसमा पनि सुविधाजनक बहुमत पाएको काँग्रेस नेतृत्वको सरकार आफ्नै कारण ढलेको भन्दै अस्थिरताको शुरुआत काँग्रेसबाटै भएको जिकिर गरे । “आरोप लगाउन पाइन्छ । उहाँहरु (काँग्रेस) ले २१ वटा आरोप लगाउनुभयो भने हामी २०४६ देखि २०७६ सम्मका २९ वर्षका २९ वटा आरोप लगाउन सक्छौँ । अनेक विषय हुनसक्छन् । प्रजातन्त्रका नाममा के–कस्ता विकृति भएका छन् । बालुवाटारको जग्गा सुवर्णशमशेर परिवारलाई प्रजातन्त्रका लागि योगदान गरेको भनेर कसले दिएको हो ?”, सञ्चारमन्त्रीले भने ।

सञ्चारमन्त्री बाँस्कोटाले आर्थिक समृद्धि, सुशासन, न्यायसमेतको राजनीतिक व्यवस्थालाई सुदृढ गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार लागिपरेको बताए। उनले प्रतिपक्षी दलले सहयोग नगरेका कारण २१ महिनासम्म संवैधानिक आयोगमा नियुक्ति हुन नसकेको बताए ।

सीमा सुरक्षणका लागि देश एकताबद्ध छ

सञ्चारमन्त्री बाँस्कोटाले कूटनीतिक र राजनीतिक प्रयासबाटै अहिलेको सीमासम्बन्धी समस्याको समाधान खोजिनुपर्ने बताए । सीमाबारे राष्ट्रिय दृष्टिकोण बनाइएको र सीमा संरक्षणका लागि देश एकताबद्ध भएर लागेको बताए ।

“हामीलाई कसैको एक इञ्च जमीन चाहिँदैन र हाम्रो पनि एक इञ्च जमीन दिन सक्दैनौँ, यो कुरा प्रधानमन्त्रीले प्रष्टरूपमा राखिसक्नुभएको छ” उनले भने ।

मन्त्री बाँस्कोटाले कुटनीतिक माध्यामबाट प्रमाणका आधारमा गुमेको भुभाग फिर्ता ल्याउने उनले बताए । उनले भने, “सबैले त्यही कुरा त्यही पाटो रोजेका छौँ, संवाद र कूटनीतिक माध्यमबाट सत्य र प्रमाणका आधारबाट हामी हाम्रो जमीन स्थापित गर्छांै, यो सरकारको दृढता हो ।”