पोखरा – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले न्यायालय, सञ्चारलगायत क्षेत्रका अधिकार एकपछि अर्को गर्दै खोस्दै गएको आरोप लगाएका छन् ।


ADVERTISEMENT


नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशनको वार्षिक साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उनले सरकारले संवैधानिक परिषद्लाई पनि कठपुतली बनाउन खोजेको दोषारोपण गरे ।


ADVERTISEMENT

# # #


उनले कास्कीमा लामो समय योगदान गरेका नेता खेमराज पौडेललाई जिताउन पनि सबैसँग आग्रह गरे । सो अवसरमा काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संवैधानिक आयोगमा नियन्त्रण गर्ने सोचका साथ संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउन लागिएको आरोप लगाउँदै यसलाई राष्ट्रपतिले जारी गर्न नहुने धारणा राखे।

काङ्ग्रेसका महामन्त्री शशाङ्क कोइरालाले आसन्न उपनिर्वाचन जनमतसङ्ग्रहजस्तै भएको बताउँदै निर्वाचनमा जनताको मन जित्दै पार्टीका उम्मेदवार विजयी बनाउन पार्टीका नेता तथा कार्यकर्ता लाग्नुपर्ने बताए । केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले लोकतन्त्र र संविधानको रक्षाका लागि एकताबद्ध हुनु आवश्यक भएकामा जोड दिए ।

एशोसिएसनका अध्यक्ष योगेन्द्रबहादुर अधिकारी, महासचिव लक्ष्मी दाहाल, पूर्वअध्यक्ष शेरबहादुर केसी, फणीन्द्र कोइरालालगायतले स्वतन्त्र न्यापालिका र लोकतन्त्र एकापसमा अन्तरसम्बन्धित भएको बताउँदै लोकतन्त्रमा नै स्वतन्त्र न्यायालयको भूमिका प्रभावकारी बन्ने धारणा राखे । कार्यक्रममा समाचार सम्प्रेषणका माध्यमबाट कानून, न्याय र लोकतन्त्र संरक्षण एवं संवद्र्धनका क्षेत्रमा योगदान पुर्याएवापत ‘राष्ट्रिय समाचार समिति’का उपसम्पादक जीवन भण्डारी र ‘हाम्राकुरा डटकम’का प्रधान सम्पादक अजयबाबु शिवाकोटीलगायतलाई सम्मान गरिएको थियो ।