काठमाडौं : विवाहको सिजन मंसिरमा पनि सुन बजार सुस्त देखिएको छ । सुनको मूल्यमा गिरावट नआउँदा सिजनमै सुनको माग घटेको व्यवसायी बताउँछन् ।


ADVERTISEMENT


यसपाली सबैभन्दा धेरै विवाहको लगन भएको महिना मंसिरमा सुनको माग नभएको सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्य बताउँछन् । मंसिरमा सुनको माग दैनिक ४०/ ५० किलो हुने गरेको थियो । तर यसपाली दैनिक २० किलो सुन पनि पुग्न मुस्किल देखिएको व्ववसायी शाक्यले बताए ।


ADVERTISEMENT

# # #


नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई दिएको कोटा २० किलो छ । ‘पोहोर त  कोटा बढाउनुपर्ने दबाव हुन्थ्यो,’ शाक्यले भने, ‘यसपाली त भएकै सुन पनि बिकाउन हम्मे हम्मे छ ।’

महासंघका अनुसार आइतबार सुनको भाउ प्रति तोला ७१ हजार ६ सय रुपैयाँ छ । गत शुक्रबारभन्दा यो एक सय रुपैयाँ कम हो । मंसिर सुरु भएयता सुनको भाउ ७१ हजार रुपैयाँ भन्दा घट्न सकेको छैन ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको र नेपालमा सुनको भन्सार दर बढेका कारण सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस १४६२ अमेरिकी डलर छ ।

अन्तराष्ट्रिय बजारमा चीन र अमेरिकाको सम्बन्धमा सुधार आउन नसक्दा सुनको मूल्य प्रभावित भएको छ । व्यापार युद्ध नसल्टिएसम्म सुधार आउन नसकेको स्थितीमा कुनै सुधार नआउने सम्भावना देखिएको छ ।