नबिल बैँक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ ) अनिलकेशरी शाहसंग हिमालय पोष्ट टिमले गरेको बिशेष कुराकानी :


ADVERTISEMENT


नविल बैँकको नेतृत्वमा हुनुहुन्छ बैँकको ‘स्प्रिटर ‘स्पिड’लाई कसरी दौडाइरहनु भएको छ ?


ADVERTISEMENT

# # #


मलाई लाग्छ, कुनैपनि संस्थाको ‘स्प्रिट’ र ‘स्पिड’ बढाउने संस्थाको नेतृत्व वा ब्राण्डले होइन, त्यो संस्थाको टिमले हो । नबिल बैँकमा पहिले काम गर्दा खेरि पनि र यो दोस्रो कार्याकालमा आउँदाखेरि पनि यो टिमको जुन शक्ति छ, जसबाट त्यो ‘स्प्रिट’ र ‘स्पिड’ निस्किन्छ । त्यसलाई तुलना गर्न सकिने अन्यत्र छैन जस्तो लाग्छ । किनभने हाम्रो टिम एकदमै मिश्रित छ । यहाँ २५–३० वर्ष काम गरेका मान्छेहरु पनि छन् भने एकदुई वर्ष काम गरेकाहरु पनि छन् । युवाहरुको जुन जाँगर छ र हामीहरुसंग अनुभव छ । अहिले शाखा विस्तारको काम पनि अगाडि बढिरहेको छ । पहिलो आउँदो जनवरी भित्रै हामी ४० वटा नयाँ शाखाहरु खोलिसक्छौँ । फेरि पनि नबिल बैँकले एउटा छलाङ लिन लागेको जस्तो लाग्छ । डिजिटलाइजेसनदेखि नयाँ नयाँ कामहरु पनि हामी गर्दैछौँ । त्यसले गर्दा नबिल एउटा ब्राण्ड बनिरहेको छ ।

बैँकको अहिलेको प्रमुख प्राथमिकता के हो ? कुन कुरामा ध्यान दिइराख्नुभएको छ ?

पहिलो कुरा त हाम्रो नेटवर्क विस्तार नै हो । हामीले २ अर्बबाट ८ अर्ब पूँजी बनाउँदा पनि कसैसंग मर्ज गरेनौँ । आफ्नै कमाईले, शेयरधनीले एक पैशा पनि थप्नु नपरिकन ८ अर्ब पुर्‍यायौँ । यसमा गर्व गर्ने ठाउँ छँदैछ । अरुले मर्ज गरेपछि उहाँहरुको नेटवर्क पनि बढ्यो । हाम्रो मर्जर नभएकाले त्यो हुन सकेन । अब त्यो छलाङ लगाउनका लागि हामीले शाखा विस्तारतिर ध्यान दिएका छौँ । नेपालको अधिकांश  ठाउँहरुमा पुग्नका लागि हामी योजना बनाइरहेका छौँ । त्यो संगै आज नबिल बैँकको ‘ब्यालेन्स सिट’ हेर्नुहुन्छ भने ठूलोठूलो कर्पोरेटले ‘लेण्डिङ साइट’मा हामीसंग लोन लिनुभएकै छ । अब हाम्रो फोकस एसएमईमा अर्थात सानो तथा मझौला व्यवसायमा छ । किनभने नेपालको अर्थतन्त्रको
मेरुदण्ड हेर्ने हो भने एसएमई नै हो । संविधान आएपछि सात वटा प्रदेश बनाएका छौँ । दुई दुई वटामा केही ठूलो कर्पोरेट्सहरु होला । तर, अधिकांशको अर्थतन्त्र चलेकै एसएमईबाट हो । देशलाई साँच्चिकै समृद्ध बनाउने हो भने एसएमईमा पूँजी पुग्नुपर्यो । नबिल एउटा प्रमुख बैँक भएकाले त्यो बाटो हामी नै बनाऔँ भनेर हामी यसमा फोकस गरिरहेका छौँ । शाखा विस्तार गरिसकेपछि डिपोजिट एकाउन्टमा फोकस हुन्छ ।

अब तपाईंको व्यक्तिगत कुरा गरौँ । अनिल शाह एउटा बैँकर मात्रै नभएर सिलेब्रेटीका रुपमा समेत चिनिनुहुन्छ । यो सफलता पछाडीको रहस्य के हो ?

जे राम्रो गर्न सकिन्छ, त्यहीँ राख्यो भने मान्छे सफल हुन्छ । सफल हुने अवसर दिने हो र त्यो अवसरलाई प्रोत्साहन गर्ने हो । मभन्दा धेरै राम्रा बैँकरहरु छन् । तर, मेरो खुबी के हो भने मान्छेको गुण के हो र त्यो गुण कहा लग्यो भने उपयोगी हुन्छ भन्नेर पहिचान गर्ने हो । जे मैँले सिकेको छु, त्यो बाँड्न कहिले पनि लाज लाग्दैन । किनभने जति मजबुत मेरो टिम भयो त्यती नै मजबुत म हुन्छु । आज बेलायतकी महारानी वा जापानका राजाको नाम लिनेबित्तिकै ‘वाउ..’ भावना किन आउँछ ? किनभने उनीहरुको देश सम्पन्न छ, जनता खुसी छन् , अर्थतन्त्र तीव्र रुपमा बढिरहेको छ । यस्तै कुनैपनि संस्थाको सीईओ ‘वाउ..’ भनिनलाई त्यो संस्था मजबुत हुनुपर्‍यो ।

मै गर्छु भनेर अगाडि बढ्यो भने केही पनि हुँदैन । हामी गर्छौँ भनेर अगाडि बढ्यो भने सबैथोक हुन्छ । मेरो दर्शन नै त्यही हो कि हामी सबै मिलेर  गर्नुपर्छ । हिजो हामी नबिल छाडेर मेगा जाँदै गर्दा त्यो संस्थाको अपरेटिङ लाइसेन्स पनि आएको थिएन । आज म सुन्छु ‘बैँक अफ दि एयर’ जित्यो रे यो वर्षको ! त्यो अनिल शाहले गरेको होइन, त्यो टिमले गरेको हो । म पनि त्यो टिमको एउटा अंग थिएँ । मैँले पनि योगदान गरेँ । मेगा जानुभन्दा अघि नबिलमा थिएँ । ६ वर्षमा हामी सबैजनाले मिलेर नबिललाई नम्बर एक बैँक बनायौँ । किनभने हामी सबैले पसिना बगायौँ, बुद्धि लगायौँ । आज पनि प्राइभेटतर्फ हामी नम्बर एक भएर चलिरहेका छौँ । र भोलि पनि एक नम्बरमै रहनेछौँ ।

अहिलेसम्मको यात्रामा सफल नै हुनुभएको छ । आफ्नो आगामी बैँकिङ गन्तव्य के राख्नुभएको छ ?

तपाईंले सफलता मात्रै भन्नुभयो । तर, अनिल शाहको व्यक्तिगत र व्यावसायिक जीवनमा धेरै असफलताहरु पनि छन् । धेरैपटक म लडेको छु । धेरैपटक चोट लागेको छ, मन दुखेको छ । तर, त्यसबाट मैँले सिकेको के भने, यो किन भयो ? आउने दिनमा यसलाई दोहोरिन नदिन के गर्ने ? आफूले गरेको गल्ती पनि नदोहोर्याउने र अरुले गरेको गल्ती पनि नगर्ने । त्यो भयो भने रफ्तार एकदम चाँडो हुन्छ । आज अनिल शाह यहाँ छ किनभने मेरो भाग्य नै भन्नुपर्छ मैँले राम्रा मान्छेहरुसंग काम गर्ने अवसर पाएको छु । पहिले ग्रिन्डलेज, स्टान्डर्ड चार्टड बैँकदेखि नबिल र मेगादेखि फेरि नबिलसम्मको यात्रामा मैँले राम्रो टिमहरुसंग काम गर्ने अवसर पाएँ । राम्रो टिमलाई आकर्षित गर्ने र प्रोत्साहन गर्ने मेरो क्षमता छ । टिमले गरेको काम आफूले गरेँ भन्यो भने टिमले काम गर्दैन । म नबिलमा आएको करिब दुई वर्ष भयो । यो दौरानमा नबिल बैँकमा यति राम्ररी अगाडि बढेका छौँ किनकी हाम्रो टिम नै यसको राम्रोका लागि लागेको छ । त्यसकारण मलाई विश्वास छ कि आगामी दिनमा हामी झन् राम्ररी अगाडि बढ्नेछौँ ।

अहिले सरकारले विकास समृद्धिको अभियान अघि सारेको वर्तमान अवस्थामा बैँकहरुको भूमिका के हुनसक्छ ?

देश अहिले गणतन्त्रमा गएको छ । सातवटा प्रदेश छन् । प्रधानमन्त्रीज्यूले देशलाई एउटा ‘भिजन’ दिनुभएको छ – हामी सबै मिलेर समृद्ध नेपाल बनाऔँ, खुसी नेपाली बनौँ । यो गर्ने प्रधानमन्त्रीज्यूको मात्रै दायित्व होइन, हरेक नेपालीको दायित्व हो । अनिल शाहको पनि दायित्व हो र नबिल बैँकको पनि दायित्व हो । त्यही भएर हामीले हरेक प्रदेशमा एउटा प्रादेशिक कार्यालय खोलेको छौँ । राजनीतिक शक्ति प्रदेशमा विभाजन भएको छ भने बैँकिङ क्षेत्रको अधिकार पनि विकेन्द्रिकृत भएर प्रदेशमा जानुपर्छ ।   हामीले सातै प्रदेशमा कार्यालय खोलेर त्यो प्रदेशका म्यानेजरलाई अधिकार दिएका छौँ कि त्यो प्रदेशमा के के चाहिन्छ ?

आर्थिक क्षेत्र कसरी मजबुद बनाउने भन्ने तर्फ बित्तीय संस्था लाग्नुपर्छ । त्यो भएर समय र ठाउँ अनुसारको व्यवसाय र उद्योगमा हामीले प्रोत्साहन गर्नुपर्छ । वित्तीय क्षेत्र भनेको अर्थतन्त्रको मुटु हो । पूँजी कहाँ पुर्याउने भनेर प्रदेशले योजना बनाउँछ । त्यसपछि केन्द्रले पनि त्यही अनुसारको साथ र सहयोग गर्छ । निजी क्षेत्रले नाफा कमाउँछन्, त्यसमा कुनै शंका छैन । तर, नाफा मात्रै पनि होइन । नाफा संगसंगै हाम्रो समाज र देशप्रतिको आर्थिक दायित्व पनि छ । एउटा हाइड्रोमा लगानी गर्नु र ५० वटा साना व्यवसायमा लगानी गर्नुमा हाइड्रोमै बढी पर्ला । तर, त्यो गरेर मात्रै देशको विकास त हुँदैन । आज सानो व्यवसायमा लगानी गरियो भने भोलि उहाँहरु ठूलो हुनुहुन्छ । उहाँहरुसंगसंगै १० जना, २० वा ५० भन्दा बढीलाई पनि रोजगारी दिनुहुन्छ । यसरी नै नेपालको अर्थतन्त्रलाई ठूलो बनाउने हो ।

पछिल्लो समय राष्ट्र बैँकले वित्तीय संस्था मर्जरको कुरा अघि सारेको बिषयमा तपाईंको धारणा के छ ?

यो के हो भने कोही १८ वर्षमै म विवाह गर्छु भन्छन, कोही ३५-४० वर्षसम्म पनि विवाह गर्दैनन् । कुन ठीक हो त ? सबैलाई १८ वर्षमा विवाह गरिदिने वा सबैलाई ४० वर्ष हुँदासम्म विवाह गर्न नदिने ? हरेक मान्छेको फरक चाहना हुन्छ । मर्जर भनेको पनि त्यही हो । कुनै संस्थालाई मर्ज गर्नु एकदम राम्रो कुरा हो । मर्जर पछि उहाँहरु सफल हुनुहुन्छ, फस्टाउनुहुन्छ । मर्ज त आफ्नै चाहनामा हुने हो । तर, मलाई पनि लाग्छ, वित्तीय संघसंस्था नेपालमा केही बढी संख्यामा नै छन् । संख्याभन्दा पनि संस्था मजबुत भयो भने झन् राम्रो कुरा हो । तर, त्यो गर्नलाई नराम्रो–नराम्रो वा राम्रो–नराम्रो मर्ज गर्ने एउटा फर्मुलाले मात्रै सबै समस्या समाधान हुँदैन ।

संस्थाको जनशक्ति कस्तो छ, ग्राहक कस्तो छ भनेर हेर्नु जरुरी छ । १ र १ जोड्दा ११ हुन्छ भने जुनसुकै संस्था पनि मर्जरका लागि तयार हुन्छ । हामी पनि तयार छौँ । हामीसंग मेल खाने, हाम्रो ‘भिजन’लाई प्रोत्साहन गर्ने संस्था आयो भने नबिल पनि मर्जरका लागि तयार छ । तर, हामी
यसकै लागि दौडिरहेका छैनौँ ।

अहिले ‘सुखी नेपाली र समृद्ध नेपाल’को नाराका साथ सरकारले काम गरिरहेको छ । एउटा बैँकरको नजरबाट यो अभियानको गतिलाई कसरी नियालिरहनु भएको छ ?

यो राजनीतिक गति भनेको राजनीतिज्ञहरुको परीक्षा जस्तै हो । मैँले आफ्नो परीक्षामा सयमा सय कहिल्यै ल्याइनँ । तर, धेरैमा ९० प्रतिशत ल्याएको छु । सय ल्याउने मेरो पनि त चाहना थियो नि ! तर ९० मा पनि म खुसी छु । गएको १५ वर्ष हेरौँ त, राजनीतिक अवस्था के थियो ? अहिले के छ ? त्यो भन्दा राम्रो छौँ कि नराम्रो ? यही प्रश्न गरौँ । तपाईले नराम्रो देख्नु भएको छ भने त के भनौँ ! तर, मैँले देखेको के भने जब केही नेपालीहरु बन्दुक बोकेर देशमा क्रान्ति गरिरहेका थिए भने कति क्रान्ति गर्नेलाई मार्छु भनेर बन्दुक बोकिरहेका थिए । त्यो भन्दा त आज राम्रै छ । जहाँ गएपनि आनन्दले खान, सुत्न पाइन्छ । जहाँ काम गरेपनि राम्ररी गर्न पाइन्छ । ६–६ महिनामा प्रधानमन्त्री परिवर्तन हुने अवस्था परिवर्तन भएको छ ।

तर, जनताले खोजेको यति मात्रै हो त ? 

हो, रफ्तार अझ चाँडो हुनसक्थ्यो, हुनुपर्थ्यो । तर, रफ्तार मैले महसुस गरिरहेको छु । आर्थिक उन्नतीको गति बढ्दो छ । त्यसकारण हाम्रो बाटो सही छ । सही बाटोमा हिँडेपछि कहिले ढिलो पुगिन्छ, कहिले चाँडो पुगिन्छ । तर, गन्तव्यमा पुग्न त पुगिन्छ नि ! गलत बाटोमा लागियो भने त जति चाँडो दौडेपनि त्यसको अर्थ हुन्न । त्यसकारण हामी सही बाटोमा छौँ । खाली रफ्तारको कुरा मात्रै हो । गएको वर्षभन्दा हामी राम्रो रफ्तारमा अघि बढिहेका छौँ ।

राजनीतिमा आउने सोच आउँछ की आउँदैन होला कहिले काहीँ ?

इमान्दार भएर भन्नुपर्दा, यो क्यान्सर भन्ने रोग निको पार्ने औषधी अझै आएको छैन । म कहिल्यै पनि सोच्दिनँ कि अब क्यान्सरको औषधि खोज्नतिर दौडौं   मलाई मेरो देशको उन्नती अलि चाँडो होस् भन्ने लाग्छ । तर, आफूले जानेको काम छाडेर राजनीति तिर गयो भने के हुन्छ ? तपाईंले पारस खड्कालाई क्रिकेट छाडेर फुटबल खेल भन्यो भने के हुन्छ ? त्यस्तै म पनि बैँकर हुँ, कहाँ राजनीतिमा लाग्ने ? जहाँ छु त्यहींबाट देशका लागि कर्म गर्छु ।

अन्त्यमा, के भन्नुहुन्छ ?

मलाई कहिलेकाहीं डर लाग्ने के भने, नेपालमा म अध्यारो सोचिएको मात्रै देख्छु । धेरै नकारात्मक सोच देख्छु । जसले केही नयाँ गर्न थाल्छ, त्यसलाई हाँसो ठान्ने, व्यंग्य गर्ने गरिन्छ ।  यस्तो सोचले कुनै पनि देश अगाडि बढ्न सकेको छैन । तेञ्जिङ नोर्गे शेर्पाले सगरमाथा नचढुञ्जेलसम्म कसैले सोचेका थिएनन् कि त्यत्रो ठूलो पहाडको चुचुरोमा कोही पुग्न सक्छ ! भनेको के भने सकारात्मक सोच राखेर अगाडि बढ्न सक्यौँ भने हाम्रो संस्थाहरु, हाम्रो समाज र हाम्रो देश २० वर्ष होइन, पाँच वर्षमा नै बदलिन  सक्छ । अहिले जुन राजनीतिक स्थिति छ, स्थानीय, प्रादेशिक, संघीय सरकार । दुई तिहाईसहित एउटै भिजन भएको सरकार । यस्तो अवस्थामा सरकारको ‘सुखी नेपाली, समृद्ध नेपाल’को सपना साकार गर्नका लागि हरेक क्षेत्रका नेपाली लाग्न जरुरी छ, जाग्न जरुरी छ । देश समृद्ध बन्यो भने हामी सबै नेपाली समृद्ध बन्छौं ।।