काठमाडौं – अखिल नेपाल यातायात मजदुर संघ ट्याक्सी विशेष जिल्ला समिति काठमाडौं र उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले टुटल, पठाओ, सरर र निजी कारहरुले ट्याक्सीजस्तै ओसारपसार गर्नेमाथि सरकारले लगाएको प्रतिबन्ध जायज रहेको टिप्पणी गरेको छ ।


ADVERTISEMENT


मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरुले यस्तो प्रतिक्रिया दिएका हुन् । सरकारले अवैध सवारीसाधनमाथि लगाएको प्रतिबन्ध जायज रहेको भन्दै सरकारको उक्त कदमप्रति आफूहरुको पूर्ण साथ र समर्थन रहेको पनि उनीहरुको भनाई छ ।


ADVERTISEMENT

# # #


अखिल नेपाल यातायात मजदुर संघ ट्याक्सी विशेष जिल्ला समिति काठमाडौंका अध्यक्ष दुर्गा श्रेष्ठले राज्यले पछिल्लो समय अवैधानिक सवारीसाधनमाथि लगाएको प्रतिबन्ध जायज रहेको बताए । उनले भने, ‘सरकारको यो कदम देखावटी नभईकन दिर्घकालिन रुपमा समस्या समाधानको निम्ति प्रेरणदायी बनोस् । विधि र कानूनी शासनलाई सबैले आत्मसात गर्नुपर्छ ।’

नेपाल भ्रमण वर्ष–२०२० लाई सफल तुल्याउनको लागि ट्याक्सी चालकहरुको भूमिका के हो र राज्यले आफूहरुलाई हेर्ने दृष्टिकोण के हो ? भन्दै उनले प्रश्न गरे । ‘अहिले रहेको भाडादर प्रणालीले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई हामीले सेवा दिन सक्दैर्नौं’ उनले भने । ‘सरकारले वैज्ञानिक भाडादर निर्धारण गर्नुपर्छ । यसतर्फ सरकारको बेलैमा ध्यान जाओस् ।’ उनले भाडा समायोजन नभए र अवैध सवारीसाधनले सेवा सुचारु गरे आफूहरुले भ्रमण वर्षलाई असहयोग गर्ने पनि चेतावनी दिए ।

कार्यक्रममा उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रिय महासचिव पूर्ण तामाङले विधिको शासनअनुसार सबै चल्नुपर्ने धारणा राखे । ‘टुटल, पठाओ र सरर अवैध रुपमा चलेका छन् । निजी प्रयोजनका सवारीहरुपनि यात्रु ओसारपसारमा लागिरहेका छन् । यो कार्यलाई सरकारले तत्काल बन्द गर्नुपर्छ ।’ उनले भने ।

सरकारले पछिल्लो समय चालेको कदम स्वागतयोग्य रहेको उनको भनाई छ । तर, आफूहरु प्रविधिको विरोधी नभएको उनको स्पष्टोक्ति थियो । उनले भने,‘टुटल, पठाओ र सररजस्ताको अवैध धन्दा बन्द हुनुपर्छ । उनीहरु विधिमा आउनुपर्छ ।’

कार्यक्रममा अखिल नेपाल यातायात मजदुर संघ ट्याक्सी विशेष जिल्ला समिति काठमाडौंका जिल्ला ईन्चार्ज सुर्य तामाङले पनि सरकारले अवैध सवारीसाधनमाथि लगाएको प्रतिबन्ध जायज भएको बताए । उनले सरकारले अवैध सवारीसाधनलाई नियन्त्रण तथा प्रतिबन्ध नलगाए आफूहरु प्रतिवादमा उत्रिने चेतावनी दिए ।