काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतले नेपाली भूमि कालापानी क्षेत्र समटिएको नक्सा जारी गरेको एक महिना बित्दा पनि सरकारले कुटनीतिक पहल नगर्नु दुःखद रहेको प्रतिक्रिया जनाएको छ ।


ADVERTISEMENT


मंगलबार एक विज्ञप्ती जारी गर्दै कांग्रेसले आभूतपूर्व राष्ट्रिय एकता कायम हुँदा पनि भारतीय सेना कालापानी क्षेत्रबाट हटाएर उच्चस्तरीय कुटनीतिक राजनैतिक पहल गरिनुपर्नेमा सरकार मौन रहेनुले अनेक आशंका पैदा गरेको जनाएको छ ।


ADVERTISEMENT

# # #


‘घटना लगत्तै नेपाली कांग्रेसले गम्भीर विमती त प्रकट गर्यो नै । तर, अभूतपूर्व राष्ट्रिय एकता हुँदाहुँदै पनि यो एक महिना दिनको अवधिमा सरकारले न त गम्भीर कुटनैतिक पहल गरेको सुनिएको छ न त उच्चस्तरीय राजनैतिक संवाद गरेको देखिएको छ ।’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘केवल प्रतिक्रिया मात्रै जनाएर सरकारको कर्तव्य पूरा हुन्न ।’

बलियो राष्ट्रिय एकताको साझा अभिमतलाई नेतृत्व गर्न र परिणाम हासिल गर्ने ढंगले सदुपयोग गर्न यस बीचमा सरकारले अयोग्यता प्रदर्शन गरेको कांग्रेसको निष्कर्ष छ । कालापानीबाट भारतीय सना हटाएर कुटनीतिक र राजनैतिक पहलका लागि कांग्रेसले सरकारलाई फेरी पनि दृढ ढंगले साथ दिने प्रतिबद्धता जनाएको छ ।

राष्ट्रवादको अडान परिणाममुखी हुनुपर्ने भन्दै कांग्रेसले कालापानी प्रकरण वर्तमान सरकारको परीक्षाको घडी रहेको जनाएको छ । ‘सबै दल र सम्पूर्ण नेपालीको साथ रहँदा पनि गम्भीर पहलकदमी नहुनु दुःखद त छ नै प्रश्न पनि उब्जिएको छ ।’ कांग्रेसले भनेको छ, ‘हिजोको राष्ट्रवादको उग्र भाव कृत्रिम थियो । आज के प्राकृतिक स्वरुपमा लुलो राष्ट्रवाद प्रकट भएको हो ?’

साथै कांग्रेसले देशको वास्तविक नक्सा सार्वजनिक गर्न किन ढिलाई भयो भन्दै प्रश्न गरेको छ । ‘गम्भीर कुटनैतिक पहलकदमी गर्न अलमल किन ? उच्च स्तरीय राजनैतिक संवाद मार्फत परिणाम हासिल गर्ने प्रक्रिया अघि बढाउन शासकीय योग्यता अभाव किन ?’ कांग्रेसको विज्ञप्तीमा उल्लेख छ ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालका अविभाज्य भूमी रहेको भन्दै कांग्रेसले त्यहाँबाट भारतीय सुरक्षाबल फिर्ता हुनुपर्ने धारणा पुनः दोहोर्‍याएको छ ।