– मनोज ज्ञवाली : सीईओ, ज्योति विकास बैँक


ADVERTISEMENT


ज्योति विकास बैँकको प्रगतिका बारेमा बताइदिनुहोस् न ।


ADVERTISEMENT

# # #


ज्योति विकास बैँकमात्रै भन्दा पनि पछिल्लो दुई तीन वर्ष पहिलेको वृद्धिदर हेर्नुभयो भने त्यो विशेषगरी चारगुणा हाराहारीको पूँजी जसरी बढाइयो, त्यो बढेपछि ‘एपिटाइड’ बढ्यो । ‘ल्याण्डिङ’ र ‘बिजनेस’को दर बढेको हुनाले बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा पनि त्यही हिसाबले बढ्यो । बैँकले कि ‘मर्ज’ हुने कि प्रतिस्पर्धी बन्नुपर्ने अवस्था आयो । राष्ट्रिय स्तरमा स्थापना भएर राष्ट्रिय स्तरमै चलिरहेको विकास बैँक ज्योति विकास बैँक मात्रै हो । अहिले भइरहेका विकास बैँकहरु मर्जर या क्षेत्रीय स्तरबाट राष्ट्रिय स्तरमा आएका हुन् । ज्योति विकास बैँकमा सुरुवाती दिनहरुमा जसरी कामहरु भएर आए, कतिपय समयमा ठीकठाक मात्रै भयो ।

म यहाँ आएको साढे तीन वर्ष भयो । त्यतीबेला युनियन लगायतका केही समस्याहरु सल्टिसकेको अवस्था थियो । सौभाग्य नै भन्नुपर्छ म आउँदा सञ्चालक समितिमा हुने द्वन्द्वदेखि लिएर कर्मचारीमा हुने अरु समस्याहरु पनि किनारा लागि सकेका थिए । त्यसका लागि तत्कालीन सीइओको पनि भूमिका छ । यस्तै, संचालक समितिको निर्देशन र साथको भुमिका पनि उत्तिकै छ । उहाँले एउटा सांगठनिक संरचनामा उभ्याइसक्नु भएको थियो । यस्ता खालका द्वन्द्वले गर्दा नै वृद्धिदरमा असर पुर्याउने हो ।

मलाई बैँकको वृद्धिदर बढाउनका लागि स्वतन्त्र रुपमा काम गर्ने अवसर बन्यो । त्यसकारण बैँकको जसरी वृद्धिदर उकालो लागेको छ, यसलाई राम्रै मान्न सकिन्छ । वृद्धिदर हेर्दाखेरि अहिले ११७ प्रतिशत वृद्धि भएको छ । यति हुँदा पनि ज्योतीभन्दा तीनवटा विकास बैँक माथि छन् भनिन्छ । त्यसकारण हामीले जानुपर्ने धेरै टाढा छ ।

बैँकको अहिलेको प्राथमिकताको विषय के हो ?

बैँकले प्राथमिकता दिने भनेको पूँजी अनुसार व्यापार बढाउने हो । अर्को, बैँकहरुले एकदमै शाखा विस्तार गरेर गएको हुनाले ‘स्टाफ टर्न ओभर’ एकदमै बढी छ । बैँकहरुमा २० देखि ३० प्रतिशतभन्दा बढी ‘स्टाफ टर्न ओभर’ रहेको छ ।

तीन तीन महिनामा शाखा म्यानेजरहरु परिवर्तन भईरहेका छन् । त्यो हैसियतमा नपुगेका मान्छेहरुलाई पनि त्यो पद दिनुपरेको छ । त्यसकारण आफ्नो जनशक्तिलाई फर्काउनु र तिनीहरुलाई त्यो तहको प्रशिक्षण गर्नु पनि चुनौतिका रुपमा रहेको छ ।  बैंकका लागि ‘जोखिम व्यबस्थापन समेत अर्को चुनौति हो’।

अर्को भनेको प्रविधिमैत्री बनाउनु हो । बैँकिङ क्षेत्रमा दिनदिनै नयाँ प्रविधिको प्रयोग भइरहेको छ । त्यसको लागत एकदमै बढी छ । यी चुनौति चिर्नका लागि गरिने प्रयास नै आज बैँकका प्रमुख प्राथमिकताहरु हुन् ।

आम सर्बसाधारणहरुलाई सेवा दिने सवालमा कमर्सियल बैँकको तुलनामा विकास बैँकहरुको भूमिका बढी छ भन्ने गरिन्छ । के भन्नुहुन्छ ?

आमजनतामा विकास बैँक अघि छन् भन्दा कमर्सियल बैँकहरुलाई अन्याय हुन्छ । किनभने आज जम्मा बचत खाताहरु कति छ त भन्दा लगभग २ करोड ७८ लाख खाताहरु छन् । त्यो कसरी गइराखेको छ र कहाँबाट छ भन्दा त्यसको १५ प्रतिशत हाराहारीमा विकास बैँकले ‘कभर’ गरिरहेको छ । त्यसकारण लगभग ८५ प्रतिशत खाताहरु खोलेर सेवा दिएकोलाई ‘मास’ नभन्ने अनि १५ प्रतिशतले ‘मास’ भन्दा अन्याय हुन्छ । त्यसकारण कमर्सियल बैँकहरु पनि ‘मासबेस’ छन् भन्नुपर्छ । तर, एउटा कुरा के हो भने विकास बैँकहरु गाउँगाउँ बढी गए । अहिले पनि गाउँघरतिर बैँकिङ कारोबारको बानी विकास बैँकले नै सिकाइरहेको छ । त्यसको पनि कारणहरु छन् ।

एक जिल्ले, तीन जिल्ले, दश जिल्ले विकास र्बैँकको अवधारणा थियो र राष्ट्रिय विकास बैँकको अवधारणा थियो । २ करोड रुपैयाँमा गाउँगाउँमा विकास बैँकहरु खुल्थ्यो । यसले गर्दा सर्वसाधारणलाई बैँकिङ पहुँचमा पुर्याउन व्यापक भूमिका खेल्यो । यस कारण विकास बैँकको पहुँच जनस्तरमा गाउँगाउँमा बढी देखिएको नै हो ।

तर, सुरुवाती दिनहरुमा व्यक्ति व्यक्तिबीचका कारोबार थियो । त्यसपछि सहकारीमा जाने गर्छ । त्यसपछि विकास बैँकहुँदै कमर्सियल बैँकहरुमा जाने हुन्छ । त्यस हिसाबले विकास बैँकहरुको भूमिका अहम् भएको देखिन्छ ।

अब ज्योति विकास बैँक कुन रणनीतिका साथ अघि बढ्दैछ ?

अर्थतन्त्रको बाटोतिर नै बैँकिङ क्षेत्र जाने भएकाले ज्योति विकास बैँकको रणनीति पनि त्यसैमा निर्भर गर्छ । अर्थतन्त्रको आवश्यकता अनुसार नै बैँकहरु अगाडि बढ्ने हुन् । भन्न त सैद्धान्तिक रुपमा देशको समृद्धिमा साथ दिन्छौँ भनौँला, सुखी नेपाली र समृद्ध नेपाल बनाउन सहयोग गर्छौँ भनौँला । तर, बेलाबेलामा साथीहरुले भन्छन्, तपाईंहरुको ‘लोन’ उत्पादनशील क्षेत्रभन्दा अन्त जान्छ ।

विकास बैँक होस् वा कमर्सियल, हाम्रो काम के हो त भन्दा कुखुरा पाल्ने सामान्य ५० हजारदेखि लिएर ७७ करोडसम्मको कर्जा दिन सकिन्छ । अझ हाइड्रो पावर पीपीए गरेको छ भने त डेढ अर्बसम्म जानसक्छ । म त कुखुरा पाल्नका लागि पनि दिन्छु, हाइड्रोको लागि पनि दिन्छु । कुरा के हो त भन्दा सरकारले कस्तो नीति लिन्छ ?

हाम्रो माग कस्तो ठाउँमा सिर्जना हुन्छ, बैँक त्यही अनुसार जाने हो । यसरी भन्दा हामी कुखुरा पाल्न देखि हाईड्रो सम्म लगानी गर्न सक्छौं, समृद्धिमा विकास वैकको भूमिका अहम हुन्छ । त्यसकारण प्रतिस्पर्धी हुनलाई समेत माग अनुसार जान सक्नुपर्यो ।

राष्ट्रबैँकले अघि सारेको बैँक तथा वित्तीय संस्था मर्जरको अवधारणामा तपाईंको भनाई के छ ?

म मर्जरको पक्षमा हो । कतिले मलाई मर्जरको विपक्षमा बोल्यो भन्छन् । तर, मर्जर किन गर्ने भन्ने कुरा निर्दिष्ट हुनुपर्छ । सञ्चालन खर्च घटाउनको लागि हो कि ‘बेसरेट’ घटाएर आर्थिक दक्षता हासिल गर्नका लागि हो वा अन्य केही हो ? पहिले उद्देश्य बनाऔँ । त्यसपछि संस्थाहरु ‘डिफाइन’ गरौँ । एउटा स्पष्ट खाका तयार गरिनुपर्छ । सरकार या नियमनकारी निकाय कसलाई चाहिएको हो स्पष्ट हुनुपर्‍यो । र कसरी जाने भन्नेबारेमा प्रष्ट हुनुपर्छ ।