लुम्बिनी– ट्राफिक सचेतनाका लागि निरन्तर अभियान संचालन हुदैं आए पनि रुपन्देहीमा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या भने बढ्दै गएको छ । दुर्घटना न्यूनिकरणका लागि सवारी जाँचमा कडाइ र कारबाहीको प्रक्रिया अघि बढाए पनि दुर्घटना कम हुनुको साटो झन बढ्दै गएको छ ।


ADVERTISEMENT


जिल्लामा आव २०७१/७२ मा १२० वटा सवारी दुर्घटनामा ८३ जनाको मृत्युका साथै ११७ जना घाइते भएका थिए । यसैगरी आव २०७२/७३ मा १८४ वटा सवारी साधान दुर्घटनामा १११ जनाको मृत्यु र २४९ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


आव २०७३/७४ मा २४८ वटा सवारी दुर्घटनामा १२५ जनाको मृत्यु र २९० जना घाइते भएका थिए । यसरी हरेक वर्ष बढ्दो सवारी दुर्घटनाले मृत्यु हुनेका संख्या पनि बढ्दो छ । ठूला सवारीसाधनभन्दा पनि साना सवारीसाधनमा दुर्घटना बढी हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । सडक सञ्जाल र यातायातका साधन बढ्दै जाँदा हरेक वर्ष सवारी दुर्घटना पनि बढ्दो क्रममा छ ।

हालसम्मकै तथ्यांकअनुसार सबैभन्दा बढी दुर्घटना मोटरसाइकलबाट भएको देखिन्छ । मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ । आव २०७१/७२ मा ८६, आव २०७२/७३ मा १४० र आव २०७३/७४ मा १९० वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । ट्रक ५३, कार–जिप ४७, बस ३८, रिक्सा, साइकल तथा ठेला २१, ट्याम्पो चार र अन्य छवटा गरी २४८ वटा सवारी साधन दुर्घटना भएका थिए ।

पछिल्लो समय बढ्दो सवारी साधनको चाप, साँघुरो बाटो, क्षमताभन्दा बढी यात्रु बोक्ने, सडकको जीर्ण अवस्था र सडक निर्माणका नाममा ठेकेदारले सडक निर्माणमा वर्षौं लगाउँदा दुर्घटना बढ्दै गएको ट्राफिक प्रहरी निरीक्षक दक्षकुमार बस्नेतले बताए ।