प्रकाश कपुरी : उपाध्यक्ष, नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल


ADVERTISEMENT


नाडा अटोमोबाइल्स एशोसियसनको केन्द्रीय उपाध्यक्ष पनि हुनुहुन्छ । नाडाको र व्यक्तिगत गतिविधि कसरी चलिरहेको छ ?


ADVERTISEMENT

# # #


नाडाको त राम्रै चलिरहेको छ ।  व्यक्तिगत रुपमा  भन्नुपर्दा मैँले यसअघि कार्यसमितिमा सदस्यको भूमिकामा बसेँ । अहिले उपाध्यक्षको कार्यकाल सम्हालेको दुई वर्ष हुन लागेको छ । नयाँ कमिटी चयन संघारमा आएकाले त्यसकै तयारी भइरहेको छ । म अध्यक्षको घोषणा गर्दैछु । त्यसैको तयारी हुँदैछ ।

यसपाली अध्यक्षमै उठ्नुपर्छ भन्ने किन लाग्यो ?

पदमा पुगेपछि केही गरेर देखाउनुपर्छ भन्ने लाग्दो रहेछ । जुन मैँले उपाध्यक्षको पदमा रहँदा अनुभव गरेको हुँ । उपाध्यक्ष पदमा बस्दा मैँले जुन काम गर्न खोजिरहेको थिएँ, त्यसमा केही कमजोरी भयो । गर्न पाइएन । टिमवर्क सही तरिकाले नभएर पनि होला । अटोमोबाइलमा साँच्चै कर तिर्ने मात्रै होइन, हामी ठूलो श्रम रोजगार पनि हौँ । अब हामीले धेरै कुरा गर्नुछ भनेर नै उम्मेदवारी दिँदैछु ।

तपाईं नाडाको अध्यक्ष भइसकेपछि के हुन्छ ? के के गर्ने योजना बनाउनु भएको छ ?

अहिलेसम्म हामी नाडामा खाली करको कुरामात्रै गरिरहेका छौँ । सर्वसाधारणले कम दरमै गाडी पाओस् भन्ने हाम्रो मान्यता पनि हो । एउटा घर, एउटा गाडीको सपना प्रत्येक नेपालीमा छ । त्यो कुरा हामीले पनि हेर्नुपर्छ । त्यसका लागि हाम्रो तर्फबाट आइपर्ने अप्ठ्याराहरुलाई हामीले सहज बनाउनै पर्छ । त्यसमा हामी गरिरहेका पनि छौँ । एउटा नागरिक भइसकेपछि देशको लागि काम गर्नु पनि उसको दायित्व हो । यसपाली मैँले के कुरा अघि बढाएको छु भन्दा ट्याक्स बैंकिङको कुरामात्रै होइन, सीएसआर (सामाजिक उत्तरदायित्व)लाई समेत जोडेर काम गर्नुपर्ने हुन्छ ।

भ्रमण वर्षको विषयमा पनि हामीले केही नयाँ प्रयोग र जुक्ति लगाउँदैछौँ । विदेशमा नेपालीहरु ८० लाख छन् भन्ने गरिन्छ । त्यसको एक प्रतिशतले मात्रै भिजिट नेपाल वा हाम्रो देशको प्रचार गर्‍यो भने कति प्रभावकारी होला ? आफ्नो देश बनाउन हामी आफैले कदम चाल्ने हो । त्यसैका लागि हामी ‘इन्टरनेस्नल भोलेन्टियर डे’ डिसेम्बर ५ को दिन ‘फ्लाई टु नेपाल, ड्राइभ टु नेपाल’ भन्ने अभियान सञ्चालन गर्दैछौँ । नाडा एउटा संस्था हो । संस्थाले सबै कुरा जोडेर काम गर्नुपर्छ भन्ने मान्यता हो । त्यही कुरालाई लिएर म अगाडि बढ्छु यसपाली ।

यसमा तपाईले साथ कत्तिको पाउनु भएको छ ? टिममा को-को हुनुहुन्छ ?

सुरुवात आफैबाट गर्ने हो । अटोमोबाइल फिल्डमा मेरो जोश जाँगर सबैलाई थाहा छ । म के गर्नसक्छु भनेर सबैले देखि पनि रहेका छन् । आज म होण्डाको सबैभन्दा ठूलो व्यापार सञ्चालन गरिरहेको छु । जुन मेरो लागि गौरवको कुरा पनि हो । भोलिका दिनमा युवा पुस्ताको प्रेरणाको लागि पनि मैँले यो सुरुवात गरिरहेको हो । राम्रो काम गर्नेलाई साथ सबैले गर्छन् ।

अन्त्यमा, निर्वाचनको संघारमा नाडासंग जोडिएका मतदाताहरुलाई के भन्नुहुन्छ ?

नाडा पहिलेको जस्तो छैन । हाम्रो देशमा अटोमाबाइल क्षेत्रमा जति पनि काम भइरहेका छन्, सबै क्षेत्रमा केही न केही अप्ठ्यारो परिरहेको छ । करको कुरा होस् वा बैँकिङ ब्याजदरमा । देशमै रोजगारी सिर्जना गरौँ भन्ने सरकारको एजेण्डा छ । हजारौँ रोजगारी दिइरहेको अटोमोबाइल्सजस्तो क्षेत्रलाई निरुत्साहित गरेर त्यो योजना सफल हुँदैन । देशमै केही गरौँ भन्नुहुन्छ भने अटोमोबाइल्स क्षेत्रलाई प्रमुख प्राथमिकता दिनुपर्छ भन्ने मेरो मान्यता हो ।

यही कुरालाई जोडेर अटोमोबाइल्स क्षेत्रका साथीहरुलाई के भन्न चाहन्छु भने नाडा पहिलेको जस्तो छैन । अब नयाँ नेतृत्व चयन गर्ने साथीहरु आइसकेका छन् । जसमध्ये प्रकाश कपुरी पनि एउटा हो । तपाईहरुले मलाई चुन्नुहोस् र नाडाको केन्द्रीय नेतृत्वमा धेरै परिवर्तन आउँछ भन्ने म विश्वास दिलाउन चाहन्छु । आफै आएर भित्री मनदेखि भोट हाल्नुहोस् र त्यसपछि हेर्नुहोस् नाडाको रुप रंग के हुन्छ ?