काठमाडौँ – उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले गुणस्तरीय स्वास्थ्य भए मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा हुने बताए।


ADVERTISEMENT


उनले बसुन्धरास्थित ‘काठमाडौँ नेचरोप्याथी अस्पताल’को आज शुभारम्भ कार्यक्रममा पूर्वाधार निर्माण भएर मात्र मुलुक समृद्ध हुने बताउँदै राष्ट्रिय आकाङ्क्षा पूरा गर्न गुणस्तरीय स्वास्थ्य सेवा आवश्यक रहेको स्पष्ट गरे ।


ADVERTISEMENT

# # #


उपप्रधानमन्त्री पोखरेलले प्राकृतिक चिकित्साको माध्यामबाट आम नागरिकलाई स्वास्थ्य सेवा दिएर सो अस्पतालले महत्वपूर्ण कामको थालनी गरेको बताए। “राम्रो कामको थालनी भएको छ, अखण्डित ढङ्गले सेवा प्रदान गर्नुहोस्”, शुभकामना दिँदै उनले भने । अस्पतालको विकासका लागि सरकारका तर्फबाट सहयोग गर्ने उनको भनाइ थियो ।

पूर्वमन्त्री रामबहादुर गुरुङले योग र प्राकृतिक चिकित्साको खाँचो दिनानुदिन बढ्दै गएकाले गुणस्तरीय सेवा प्रदान गर्न आग्रह गरे । वरिष्ठ योग चिकित्सक हरिप्रसाद पोखरेलले सरकारले सरुवा रोगको उपचारका लागि ठूलो धनराशि खर्च गरे पनि नसर्ने रोगका बारेमा काम गर्न नसकेको बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय एलोपेथिक मन्त्रालयको रूपमा मात्र रहेको उनको भनाइ थियो ।

सो अस्पतालले प्राकृतिक चिकित्सा, फिजियोथेरापी, मसाजथेरापी, हाइड्रोथेरापी, योग थेरापी, अकुपञ्चर, अकुप्रेसर, भोजन परामर्शलगायत सेवा प्रदान गरिने अध्यक्ष गणेश पाण्डेले जानकारी दिए । अस्पतालमा बहिरङ्ग, अन्तरङ्ग, ल्याब, विशिष्ट आवासकक्ष, जीवनशैली क्लिनिक सुविधा छन् ।

बिनाऔषधि र बिना शल्यक्रिया उपचार गरिने उक्त अस्पतालमा उच्च रक्तचाप, ग्याष्ट्रिक, मोटोपन, दम, खोकी, कम्मर, गर्धन, बाथ, हड्डीसम्बन्धी रोगको उपचार गरिने अस्पतालका मेडिकल डाइरेक्टर डा यन्जन गैरेले जानकारी दिए। रासस