काठमाण्डौ – नेपाली सङ्गीत जगत्का चम्किला तारा नारायणगोपाल गुरुवाचार्यको स्वर्गारोहण भएको २९ वर्ष पुगेको छ । नेपाली सङ्गीतका क्षेत्रमा गहिरो प्रभाव छोड्न सफल उहाँ नेपाली जनजनको मनमा अहिले पनि जीवन्त हुनुहुन्छ ।


ADVERTISEMENT


बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवीका कोखबाट उहाँ विसं १९९६ असोज १८ गते काठमाण्डौमा जन्म भएको थियो । उहाँको विसं २०४७ मङ्सिर १९ गतेका दिन ५१ वर्षको उमेरमा निधन भयो । बिहीबार उहाँको २९औँ स्मृति दिवसका अवसरमा नारायण गोपाल सङ्गीत कोषले उहाँको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गर्दैछ ।


ADVERTISEMENT

# # #


उहाँका कालजयी गीतले नेपाली गीत–सङ्गीतको स्वरुप नै बद्लिदियो । हिन्दी गीतबाट प्रभावित त्यतिबेलाको समयमा उहाँका एकपछि अर्को गर्दै आएका विभिन्न गीतहरुले दर्शक, स्रोताको मन जित्न सफल भएका छन् । उहाँका गीत राष्ट्रिय भावले ओतप्रोत रहेका छन् ।

नारायण गोपालका गीतको प्रभाव बढ्न थालेपछि हिन्दी गीतको प्रभाव घटेको जानकारहरु बताउँछन् । उहाँले विसं २०१७ मा पहिलो गीत रेकर्ड गरेर साङ्गीतिक यात्रा प्रारम्भ गर्नुभएको थियो ।

उहाँका गीत अहिलेका पुस्तामाझ पनि कर्णप्रिय बन्न सफल रहेका छन् । उहाँ उत्कृष्ट आधुनिक गीत पस्किएर नेपाली सङ्गीत क्षेत्रमा देखिएको रिक्ततालाई मेटाउन सफल ठहरिनुभयो । प्रेमसम्बन्धी गीत गाएर लाखौँ युवा वर्गको रोजाइमा पर्न सफल हुनुभयो । नारायण गोपालले नेपाली सङ्गीतको क्षेत्रमा कहिल्यै भुल्न नसकिने गुन लगाउनुभएको छ ।

साङ्गीतिक जीवनमा उहाँले केही असफलता पनि बेहोर्नुपरेको थियो । पहिलोपटक नै स्वर परीक्षामा अनुत्तीर्ण हुनुपरेको थियो भने चलचित्र माइतीघरको गीत गाउन जाँदा गाउन नसकेर अस्वीकृत हुनुपर्‍यो । उहाँले भारतको बडोदामा शास्त्रीय सङ्गीतको अध्ययन पूरा नगरी छाडनुपरेको थियो । करिब १०० बढी गीतमा आवाज भर्नुभएका उहाँका सबै गीत कालजयी छन् । अहिलेको समयमा पनि उत्तिकै राम्रा मानिन्छन् । नारायण गोपालको घरमा शास्त्रीय सङ्गीतबाहेक आधुनिक गीतमा रम्न मनाही थियो । बुबाले आधुनिक सङ्गीतलाई हलुका रङ्गीन ठान्नुहुथ्यो पूर्व–पश्चिम राजमार्गको निर्माण कार्य चलिरहेका बेला उहाँले ‘जाग लम्क चम्क हो नौ जवान हो।।।’ बोलको गीतमा स्वर दिएर ऊर्जा थपिदिने कार्य गर्नुभएको थियो ।

विसं २०२७ फागुनमा पेमालाका साथ वैवाहिक जीवनमा बाँधिए पनि उहाँहरुबाट कुनै सन्तान जन्मिएनन् । नारायण गोपालको स्मृति दिवसका दिन सङ्गीत कोषले उहाँको सम्झनामा निर्माण हुन लागेको भवनको शिलान्यास, स्रष्टा सम्मान र प्रवचन कार्यक्रमको आयोजना गर्न लागेको कोषका प्रशिक्षक राजकुमार श्रेष्ठले बताउनुभयो ।

‘एउटा मान्छेको मायाले कति’, ‘आँखा छोपी नरोऊ भनी’, ‘पर्खी बसेँ आउला भनी’, ‘यति धेरै माया दिइ’, ‘यो सम्झिने मन त’, ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो’, ‘म त लालीगुराँस भएछु’, ‘ल सुन मेरो रामकहानी’, ‘यति चाखो यति मीठो’, ‘तिमीलाई म के भनु’लगायतका दर्जनौँ अजर अमर गीतमा नारायण गोपालले स्वर भर्नुभएको छ ।