काठमाडौँ – नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । बिहीबार नेपालले भुटानलाई १४१ रनले हराएको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २३६ रन बनायो । २३७ रनको विशाल योगफल पच्छ्याउँदै मैदान प्रवेश गरेको भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९५ रन मात्रै बनाउन सक्यो ।


ADVERTISEMENT

# # #


भुटानका लागि रांगजन दोर्जीले सर्वाधिक २७ रन बनाए । पारस खड्काको बलमा आउट हुनु अघि उनले २३ बलमा ४ छक्का प्रहार गरे । यस्तै सोनाम ताग्वेले १५ र तोब्देन सिंगेले ११रन बनाए ।अन्यले दोहोरो अंक छुन सकेनन् ।

नेपालका लागि पारस खड्काले ३ विकेट लिए । यस्तै पवन सर्राफ, ललित नारायण राजवंशी र करण केसीले समान १-१ विकेट झारे ।

यसअघि  नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले शानदार शतक प्रहार गरे । टी२० अन्तराष्ट्रियमा पहिलो शतक हानेका उनले ५५ बलमा १०७ रन बनाए । यसक्रममा उनले ५ चौका र ९ छक्का ठोके ।

यस्तै पूर्वकप्तान पारस खड्काले पनि अर्धशतकीय पारी खेले । खड्काले २८ बलमा ९ चौका र एक छक्काको मद्दतमा ५७ रन बनाए ।

दीपेन्द्रसिंह ऐरीले २७ बलमा ४ चौका र २ छक्काके मदतमा ४५ रन बनाए ।

भुटानका लागि कर्मा दोर्जीले दुई विकेट लिए भने तोब्देन सिङ्ग्येले एक विकेट हात पारे ।

पहिलो खेलमा श्रीलंका यू-२३संग पराजित भएको नेपालले अर्को खेल शनिबार बंगलादेश यू-२३संग खेल्ने छ ।