काठमाडौँ – नेपालमा जारी १३ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले बिहीबार भुटानविरुद्ध १४१ रनको शानदार जित निकाल्यो । त्यसका लागि कप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट ब्याटिङ गरे ।


ADVERTISEMENT


टी–२० अन्तर्राष्ट्रिय मा पहिलो शतक हानेका उनले शतक छोरीप्रति समर्पित गरेका छन् । भुटानविरुद्ध व्यक्तिगत १०० रन पूरा गरेपछि उनले काखमा बच्चा लिएको संकेत गर्दै उत्सव मनाएका थिए । शतक हानेपछि छोरीलाई डेडिकेट गर्छुभन्ने पूर्वयोजना बनाउनुभएको थियो भन्ने प्रश्नमा ज्ञानेन्द्रले भने, ‘९९ रन नपुग्दासम्म त केही थिएन । त्यसपछि भएको हो ।’


ADVERTISEMENT

# # #


‘छोरा होस् वा छोरी भइसकेपछि कसैको पनि जीवनमा एउटा भावनात्मक पक्ष हुन्छ । त्यसबाट म पनि टाढा जान सकिँन । त्यसले गर्दा पनि अलिकति भावुक बनायो’ उनले भने । पछिल्ला खेलमाहरुमा अपेक्षाकृत प्रदर्शन गर्न नसकेका मल्लले भुटानविरुद्धको शतकले आत्मविश्वास बढाउने बताए ।

‘भुटान कमजोर टिम हो । तर त्यसविरुद्ध बनेको शतकले आफूलाई आत्मविश्वास बढाउन मद्दत गर्छ ।’ उनले भने, ‘शतक शतक नै हो । त्यहाँ (मैदानमा) गएर खेल्नुपर्छ, बल हान्नुपर्छ । जस्तो टिम भएपनि बललाई रनमा परिणत गर्नुपर्ने हुन्छ, अझ राम्रो गर्न बाँकी नै छ ।’

उनले सागमा स्वर्ण पदकको सम्भावना जीवित नै रहेको भन्दै उनले त्यसका लागि माल्दिभ्स र बंगलादेशसंगको खेल महत्वपूर्ण हुने बताए । ज्ञानेन्द्रले भुटानविरुद्ध ५५ बलमा १०७ रन बनाएका थिए । यसक्रममा उनले ५ चौका र ९ छक्का प्रहार गरे ।