काठमाडौं – संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरालाई समावेश गरेर नेपालको नक्सा तत्काल सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।


ADVERTISEMENT


शुक्रबार गृहमन्त्री रामबहादुर थापा र भूमि व्यवस्थामन्त्री पद्मा अर्यालसँग छलफलपछि समितिले लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता लगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्न निर्देशन दिएको हो । यसअघि संसदकै राज्य व्यवस्था समितिले पनि सरकारलाएई यस्तो निर्देशन दिएको थियो ।


ADVERTISEMENT

# # #


बैठकले सरकारलाई निर्देशन दिँदै भनेको छ, “लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता लगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्ने ।”

समितिमा भएको छलफलमा मन्त्री अर्यालले नेपालको नक्सामा लिपुलेक, कालापानी समावेश भएको तर लिम्पियाधुरा क्षेत्र नभएको बताइन् । उनले भनिन्, ‘सरकारले एउटा सन्दर्भ पारेर प्रकाशित गर्छ, यसका लागि डकुमेण्ट संकलन गरिरहेको छ ।’

त्यस्तै, समितिले सो समस्या समाधान गर्न राजनीतिक, कुटनीतिक तहमा अविलम्ब वार्ता गर्न पनि निर्देशन दिएको छ ।

समितिले नेपाली भूमिको रक्षा तथा कालापानी क्षेत्रमा बसोबास गरिरहेका नेपालीहरुलाई सहज आवत जावत गर्ने बाटो र अन्य सुविधा उपलब्ध गराउन भनेको छ । साथै भारतबाट अतिक्रमित भूमिमा नेपालको सार्वभौम अधिकार र स्वामित्व सुदृढ गर्न भारत सरकारसँग राजनीतिक, कूटनीतिक तहमा अविलम्ब वार्ता गरी समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।

बैठकले गृह, भूमिव्यवस्था र परराष्ट्र मन्त्रालयसहितका निकायहरुको संयुक्त समन्वयनकारी संयन्त्र निर्माण गरी एकीकृत रुपमा प्रभावकारी काम गर्न पनि भनेको छ ।