काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आगामी माघ ६ गतेभित्रै मिल मालिकहरुबाट उखु किसानहरुको भुक्तानी गराईनेबारे लिखित सहमति गर्ने प्रतिबद्धता जनाएका छन् ।


ADVERTISEMENT


शुक्रबार रिपोर्टर्स क्लबमा बोल्दै मन्त्री भट्टले उखु किसानहरुको मागप्रति सरकार सुरुदेखि नै सकारात्मक र गम्भिर रहेको बताउँदै आगामी माघको पहिलो साताभित्रै सबै भुक्तानी दिलाउनेगरि लिखित रुपमै सहमति गर्ने स्पष्ट पारेका हुन् । उनले भने, ‘आउने माघको ६ गतेभित्र उखु किसानहरुको माग पूरा हुन्छ । म लिखित रुपमै प्रतिबद्धता व्यक्त गर्छु ।’


ADVERTISEMENT

# # #


उनले यही पुसभित्र ८० प्रतिशत र बाँकी २० प्रतिशत माघको पहिलो सातासम्म भुक्तानी गराईसकिने विश्वास दिलाए । उनले भने, ‘सरकारले नै अब किसानहरुको भुक्तानी उठाईदिने जिम्मेवारी लिएको छ ।’

उनले उखु किसानहरुको माग र समस्याको दिर्घकालीन समाधान गर्न एउटा कार्यदल गठन गर्ने र उखु किसानहरुलाई दिईने हरेक अनुदान किसानकै खातामा हालिदिने व्यवस्था पनि गर्ने जनाए । सरकारले प्रति क्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिँदै आएको छ । उनले रुग्न अवस्थामा रहेका वीरगन्ज चीनी कारखाना र लुम्बिनी चिनी कारखानालाई पनि छिट्टै सञ्चालनमा ल्याउने विश्वास दिलाए ।

कार्यक्रममा उखु किसान संघर्ष समितिका संयोजक राकेश मिश्रले विभागीय मन्त्रीबाटै आफूहरुको माग पूरा गराउने प्रतिबद्धता आएको भन्दै खुशी व्यक्त गरे । कार्यक्रममा उपस्थित् भएका उखु किसानहरुले अब आफूहरु घर फर्किने बताए। उनीहरुले विभागीय मन्त्रीबाट नै माग पूरा गराउने प्रतिबद्धता आएकोले अब घर फर्किन आफूहरु तयार भएको स्पष्ट पारेका हुन् ।

मिश्रले मिडियाकै कारण उखु किसानको आन्दोलन सफल हुन पुगेको भन्दै खुसी व्यक्त गरे । यस्तै कार्यक्रममा उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले आफूहरुले सरकारप्रति विश्वास र भरोसा राखेर लामो समयसम्म पर्खेर बसेको सुनाए । तर, लामो समयसम्म पर्खिदापनि माग पूरा नगरेकोमा आफूहरु दुःखित भएको पनि उनले गुनासो पोखे ।