चितवन– पर्यटकीय नगरी सौराहामा राप्ती र बुढीराप्ती खोलाको बाढी पसेपछि त्यहाँ रहेका करिव छ सय पर्यटक उद्धारको पर्खाइमा छन् ।


ADVERTISEMENT


अधिकांश होटल डुबानमा परेका छन् । ती होटलको पहिलो तल्ला पानीले डुबेको सौराहास्थित क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनीहरुलाई हात्तीको सहायताले बसेकै होटेलको माथिल्लो तला वा नजिकको तला भएको होटलमा सार्ने काम भइरहेको उहाँले बताए । सौराहा र रत्ननगरको बीचमा रहेको चित्रसारी खोला बढेसँगै यातायात आवागमन रोकिएको छ । पर्यटकलाई हात्तीको सहायताले सुरक्षित स्थानमा लैजानसक्ने अवस्था पनि पनी छैन ।

प्रमुख जिल्ला अधिकारी र नेपाल पर्यटन बोर्डमा पनि उद्धारका लागि वातावरण सिर्जना गर्न आग्रह गरिएको अध्यक्ष घिमिरेले बताए । पानीको मात्रा निरन्तर बढेकाले पर्यटक आत्तिएका छन् । सौराहामा अहिले नेपाली दुई सय, भारतीय दुई सय र अन्य मुलुकका दुई सय गरी छ सय पर्यटक रहेको घिमिरेले बताए ।

कतिपय पर्यटकको आज फर्कने तालिका भए पनि वर्षाका कारण असम्भव बनेको छ । होटलमा पहिलो तल्लामा रहेका भान्सा घर र सामग्री डुबानमा परेपछि बिहानबाट उनीहरुले खान पाएका छैनन् । बाढीले तीन वटा गाडी बगाएको बताइएको छ ।

सौराहाको होटल सेभेनस्टारका प्रबन्ध निर्देशक माधव दुवाडीले पर्यटकको उद्धारका लागि गृहमन्त्रीलाई समेत आग्रह गरिए पनि प्रक्रिया अघि नबढाइएको गुनासो गरे।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले पानीमा हात्ती लामो समय नहिँड्ने, साना डुङ्गामा पनि सम्भव नहुने भएकाले देवघाटबाट चार वटा र्याफ्टिङ् मगाइएको र त्यसकै सहायताले सुरक्षितस्थलसम्म पर्यटकलाई ल्याउने तयारी भइरहेको उनले बताए । सौराहामा रहेका ११० वटा होटलमध्ये धेरैजसोको पहिलो तलामा पानी भरिएपछि त्यहाँ रहेका सामग्री नष्ट भएका छन् । पर्यटक आगमनको मौसम सुरु हुँदै गर्दा बाढी आएको हो ।

विसं २०५९ यताको सबैभन्दा ठूलो बाढी सौराहामा पसेको हो । त्यतिबेला सौराहामा बाढी पसेर होटलमा बालुवा भरिएपछि ठूलो क्षति भएको थियो । रासस