– दुर्गा प्रसाई, सञ्चालक, बी एण्ड सी मेडिकल कलेज

बी एण्ड सी मेडिकल कलेज किन सञ्चालन हुन सकेन ?


ADVERTISEMENT


संसदबाट चिकित्सा शिक्षा विधेयक लडाईंबाट पास भयो । यो कुरा सबैलाई थाहा छ । कांग्रेसको प्रतिरोधका बीच पनि पास भयो । पास भइसकेपछि काठमाडौँ उपत्यकाबाहिर मेडिकल कलेज आउँछ भन्ने कुरा सबैले विश्वास गरेका थिए । विधेयक पास भएको भोलिपल्ट मेडिकल कलेजका ‘विरोधी पत्रिका’हरुले पनि अब बी एण्ड सीको बाटो खुल्यो भनेर लेखे । विधेयक पास भएपछि चिकित्सा शिक्षा आयोग बन्यो । आयोगले पूर्णता पाएपछि सीटीईभीटीका कार्यक्रम भएका २८ वटा संस्थालाई सम्बन्धन दिईयो । तर, हामीलाई दिइएन ।


ADVERTISEMENT

# # #


सम्बन्धन माग्न जाँदा घुस मागियो भनेर तपाईंले आजै पत्रकार सम्मेलनमार्फत खुलासा गर्नुभएको छ । के हो यो विषय ?

हामी सम्बन्धन माग्न जाँदा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरिले २० करोड पैसा ल्याउनुहोस् अनिमात्रै सम्बन्धन दिन्छौँ भन्नुभयो ।

त्यसपछि हमीले के सोच्यौँ भने, २० करोडको महिनामा ३० लाख ब्याज पाक्छ । हरेक महिना मैँले ३० लाख ब्याज मात्रै तिर्नुभन्दा सम्बन्धन
नै किन लिनु भनेर हच्केको छु । यही कुरा मैँले राज्यका चौथो अँग सञ्चारमाध्यामहरुलाई जानकारी गराएको हुँ । किनभने मैँले भौतिक पूर्वाधार बनाएकै छु । नेपालको कानुनले समेटेका सबै मापदण्डहरु पूरा गरेको छु । अब मलाई राज्यले सम्बन्धन दिँदैन भने राज्यले किनोस्, राज्य चलाउँछ भने म दिन पनि तयार छु ।

आयोगका उपाध्यक्षले के भनेर माग्नुभयो त २० करोड ?

गत मंसिर १५ गते म सम्बन्धनको लागि निवेदन लिएर गएको थिएँ । प्रक्रिया पुगेको छैन भन्दै बिहान निवेदन नै दर्ता गर्न मान्नु भएन ।

त्यही दिन बेलुका काठमाडौंको द्धारिका होटलमा बोलाएर २० करोड दिए मात्र संबन्धन मिल्छ भन्नुभयो । उहाँले म यहाँ यत्तिकै आएको होइन, यत्तिकै ल्याईएको पनि होइन, मेरा पछाडि पनि नेता छन् । मेरो पछाडि शिक्षामन्त्री हुनुहुन्छ । उहाँका लाईनका अरु नेताहरु पनि हुनुहुन्छ । उहाँहरुका लागि के गर्नुपर्छ तपाईंले बुझिहाल्नुहुन्छ । यति (२० करोड) पैसा भएन भने काम गर्न सक्दिँन भन्नुभयो ।

तर, मलाई के कुरामा चित्त दुख्यो भने यो चिकित्सा शिक्षा विधेयक पास हुनुपर्छ भनेर सबैभन्दा बढी म कुदेको हुँ । हरेक दिन नेताहरुका घर चहार्दा चहार्दा थाकेर बल्ल चिकित्सा शिक्षा विधेयक पास भयो । चिकित्सा शिक्षा विधेयक पास भएपछि डा. गिरी आयोगको उपाध्यक्ष हुनुभयो । राम्रो मान्छे ल्याउने भनिएको थियो यस्तै हो त राम्रो मान्छे ? घुस माग्ने ?

मजत्तिको मान्छेले घुस माग्नेको भण्डाफोर गरेन भने झन् बेथिति फैलिन्छ भनेर सार्वजनिक गरेको हुँ । उहाँले भनेको भोलिपल्ट गएर नेकपाका दुईवटै अध्यक्षलाई भनेको छु । अन्य नेताहरुलाई पनि भनेको छु । त्यसपछि मात्रै मैँले पत्रकार सम्मेलन गरेको हुँ ।

नेताहरुले के भन्नुभयो ?

उहाँहरुले यो गलत भयो । २० करोड रुपैया खानलाई उहाँलाई चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बनाएको होइन भन्नुभयो ।

तपाईंले घटना मंसिर १५ मा भएको भन्नुभएको छ । यो बीचमा किन मौन बस्नुभयो ?

बीचमा केही भइहाल्छ कि भनेर म चूप लागेको हुँ । यो शैक्षिक सेसन पनि गयो । त्यस्तै मलाईं यो बीचमा झापामै क्याम्सर अस्पताल सञ्चालनमा ल्याउनु थियो । त्यसको तयारीमा लागेँ । गत जनवरी १ मा मैँले दक्षिण पूर्वी एशियाकै नमूना क्यान्सर अस्पताल सञ्चालन गरेँ ।

अब के गर्नुहुन्छ ?

मेडिकल कलेज खोल भनेर सरकारले मलाई लेटर अफ इण्टेण्ट (एलओआई) दिएको छ । त्यही एलओआई देखाएर मैँले अर्बौंको ऋण लिएको छु ।

अहिले बजार र बैँकको गरेर बी एण्ड सीलाई ३५५ करोडको ऋण छ । यो सञ्चालन नहुने हो भने मलाई वार्षिक ३० करोड रुपैयाँ घाटा लाग्छ । ३० करोडको मात्रै कुरा होइन, हरेक वर्ष १० जना विद्यार्थीले निःशुल्क पढ्न पाउँथे । मेडिकल कलेज आयो भने त्यस ठाउँका जनताले सर्वसुलभ उपचार पाउँथे । मैँले त न्याय पाउनु पर्‍यो नि ?

चिकित्सा शिक्षा के हो र चिकित्सा शिक्षाले के गर्नुपर्छ भनेर अब म यो कुरा स्पष्ट पार्न चाहन्छु । यतिले मात्रै म छोड्नेवाला छैन । अब म अदालत जान्छु । अख्तियार जान्छु । घुस माग्नेलाई अख्तियारले कारबाही गर्छ कि गर्दैन त्यो पनि हेर्छु ।