– मेनुका चौधरी


ADVERTISEMENT


“माघी लइली सिखार खेली
सखिय हो, माघकी पिलीगुडी जाँड…! ”
पश्चिम क्षेत्रका थारु समुदायको महत्वपूर्ण पर्व ‘माघी’ को उल्लासमय वातावरण उनीहरुको घरआँगन तथा गाउँबस्तीमा छाएको छ । आफ्नो वर्षभरिको दुःख, पीडा बिर्सदै आपसमा मिलेर गीत गाउँदै, नाच्दै गाउँघर सिगार्नेदेखि पारिवारिक मिलनको उत्साह र उमङ्गले नेपालका आदिवासी थारु समुदायका गाउँबस्तीमा अहिले बालबालिकादेखि वृद्धवृद्धालाई माघी पर्वको रौनकले छपक्कै छोपेको छ ।


ADVERTISEMENT

# # #


बाँके, बर्दिया, कैलाली, कञ्चनपुर दाङलगायत २४ जिल्लामा थारुहरुको घर–आँगनमा यतिबेला ‘माघी लइली सिखार खेली सखिय हो, माघकी पिलीगुडी जाँड…!’ भन्ने गीत सबैको मुखमा झुण्डिएको छ । यो गीत थारू फिल्म कमैयाको हो । यो थारु लोकभाका पनि हो । माघी पर्वमा विशेषगरी पाहुनाले खाने रक्सी र बंगुरको मासु हो । जति मीठो बनायो, उति पाहुना खुसी हुन्छन् । माघीमा बंगुरको मासु, दारु, तरुल, ढिक्री, घुंगी, गन्जी (सखरखण्ड) थारु समुदायको विशेष परिकार हो । माघीमा रक्सी नखाए देउता रिसाउने कथन छ । बच्चादेखि बुढाबुढीले समेत चाख्नैपर्ने थारु अगुवाको भनाइ छ ।

विधिवत् रुपमा पुस २९ गतेबाट शुरु हुने यो पर्वको तयारी थारु बस्तीमा शुरु भइसकेको छ । माघी पर्व तयारीमा थारु समुदायले अहिले अन्नपात कुटानी, पिसानी गर्ने, लत्ताकपडा किन्ने र गाउँघरको सरसफाइ गर्ने काम धमाधम गरिरहेको पाइन्छ । यो पर्वका अवसरमा थारु समुदायले छोराछोरीको बिहे, अंशबण्डा, खेतीपातीको वार्षिक योजना निर्माण गर्नुका साथै परिवारका सदस्यको कामको बाँडफाँटसमेत गर्दछन् ।

माघीको अघिल्लो रात सुँगुर काटेर मासु खाने गरिन्छ, जसलाई थारु भाषामा ‘जिता मरना’ भनिन्छ । त्यसरात थारु समुदाय मासु, जाँड र ढिकरी खाई रातभर जाग्राम बसी ‘सखिया’ नृत्यमा रमाउने गर्दछन् । माघे संक्रान्तिका दिन विशेष गरी थारू समुदायमा बिहानै उठेर नजीकैको नदी, तलाउमा गई नुहाइ आफू भन्दा ठूलाबाट आशीर्वाद लिने चलन छ । माघीको अवसरमा विवाहीत छोरी चेलीलाई (निश्राउ) चामल, नून, तेल, बेसार लगायतका खाद्यान्नबाट तयार पारिएको परिकार दिने परम्परा छ । जसलाई थारु भाषामा ‘उपहार’ भनिन्छ ।

थारू समुदायमा यो पर्वमा विषेश गरी अण्डी चामलको भातरोटी, ढिक्री, बरिया, घोंगी, सुँगुरको मासु, माछा, गङ्गोटा लगायतका स्थानीय खानाका परिकारलाई महत्व दिने गर्दछन् । थारू समुदायका विभिन्न लोक संस्कृति झल्किने एकल तथा सामूहिक नाचगान गरी रमाइलो गर्ने गरिन्छ । यो प्रक्रिया माघ महिना भर चल्ने भए पनि पछिल्लो समय भने एक÷दुई दिनमा सीमित हुन थालेको छ ।

कामको सिलसिलामा युवाहरुले गाउँ छोड्नु पर्ने बाध्यताका कारण यो पर्व दुईचार दिनमै सीमित हुने गरेको बताइएको छ । थारु समुदायमा माघी पर्व र नयाँ बर्षलाई मनाउने शैली फेरिन थालेको छ । माघी सुरु भएदेखि १०÷१५ दिनसम्म घरघरमा गएर मघौटा, धमार, झुमा नाच प्रर्दशनी गर्ने परम्परा भन्दा अहिले रमाइलो मेलाका माध्यमबाट स्टेज कार्यक्रम युवाको प्राथमिकतामा पर्ने गरेको छ । मघौटा, धमार, झुमा नाचलाई घरघरमा गएर प्रदर्शन गर्ने परम्परा भने बुढापाकामा मात्रै सीमित हुन थालेको छ । यस वर्ष पनि वर्दियाका विभिन्न स्थानमा माघीलाई लक्षित गरी महोत्सव र रमाइलो मेला आयोजना गरिएका छन् । मेलामा युवाको आकर्षण समेत राम्रो देखिन्छ ।

नयाँ वर्ष र माघी पर्वलाई विशेष रुपमा मनाएको दोश्रो दिन अर्थात माघ २ गते गाउँगाउँमा माघी दिवानी (विशेष छलफल) गरिन्छ । त्यसदिन छलफलका माध्यमबाट थारु समुदायमा नयाँ नेतृत्व चयन गर्ने परम्परा छ । जसलाई भलमन्सा र गुरुवा भनिन्छ । उनीहरुले गाउँको रक्षा गर्ने, अपठ्याारो परिस्थितीमा उचित निर्णय दिने, न्याय दिने लगायतका कामहरु गर्दछन् । भलमन्सालाई नेतृत्वका रुमा लिइन्छ भने गुरुवालाई पूजारीका रुपमा लिइन्छ । यती मात्र हैन, राजनीतिमा पनि उनीहरुको महत्वपूर्ण भूमीका हुन्छ । निर्वाचनका क्रममा थारु समुदायका भलमन्सा र गुरुवाहरुले दिने निर्णय नै आधिकारिक हुने भएका कारण सवै दलले गुरुवा र भलमन्सालाई विशेष रुपमा हेर्ने गरेका हुन्छन् ।

आफ्नो भाषा संस्कृति र पहिचानको संरक्षण र सवद्र्धन गर्न वकालत गरिरहेको तप्काले अहिले माघ र माघीबारे बहस चलाउँदै छन् । माघ वा माघे सङ्क्रान्ति मनाउने समाजमा माघी कहाँबाट भित्रियो, सोचनिय विषय छ । थारुहरुले प्रयोग गर्ने मैलिक शब्द नेपालीकरण गरेको यो पहिलो पटक होइन् । थारुहरुको मौलिक शब्दका गाउँका नाम परिवर्तन गरिने पुरानै परिपाटी छ । जस्तो थारुगाउँका नाम घोरीघोरा घोडाघोडी हुनु, पिर्ठीपुर पृथ्वीपुर हुनु, रानामुरा रानामुडा हुनु जस्ता थुप्रै उदाहरण छन् । त्यस्तै थारुहरुको बरघरलाई बडघर भन्नु र लेख्नु अर्को उदाहरण हो ।

त्यसकै निरन्तरता हो माघलाई माघी बनाइनु । थारुका ठेट र मौलिक शब्द परिवर्तित हँुदै जानु थारु भाषामाथिको प्रहार हो । हेर्दा सामान्य लाग्छ, माघलाई माघी भन्यो, बरघरलाई बडघर भन्यो । तर यी शब्द केवल शब्द मात्र होइनन् । यी शब्द भनेका थारुका पहिचानसँग जोडिएका विषय हुन । यी शब्दसँग थारुको इतिहास जोडिएको छ । थारु मात्रै किन सबै भाषाका आफ्नै मौलिक र ठेट शब्द र त्यसको उच्चारण हुन्छ, सबैको आफ्नै महत्व, आफ्नै पहिचान र इतिहास हुन्छ । कसैको पनि पहिचान र इतिहास मेटाउनभन्दा त्यसको सम्मान र संरक्षण गर्न जरुरी हुन्छ । रासस