झापा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापा जिल्ला कमिटीले पार्टी एकीकरणपश्चात सदस्यको अभिलेख व्यवस्थित गर्न सबै स्थानीय तहमा सदस्यता नवीकरण शिविर सञ्चालन गरेको छ ।


ADVERTISEMENT


झापाका आठ नगरपालिका र सात गाउँपालिकामा स्थानीय कमिटीको आयोजनामा सदस्यता नवीकरण शिविर आगामी माघ १५ गतेसम्म सञ्चालन हुने नेकपाका कार्यालय सचिव शिव ढुङ्गेलले बताए । शिविरमा तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रका पार्टी सदस्यको सदस्यतालाई नेकपा सदस्यका रूपमा अद्यावधिक गरिने र सदस्यता विवरणमा जन्म मितिलगायतमा रहेका त्रुटिसमेत सच्याइने उनले जानकारी दिए ।


ADVERTISEMENT

# # #


पार्टी एकीकरणपछि बनेको नेकपामा दुई वर्षयता सदस्यको अद्यावधिक भएको थिएन । भिन्न दलबाट आएका सदस्यको भावनात्मक अन्तरघुलनका लागि समेत सदस्यता नवीकरण शिविर उपयोगी हुने पार्टीका विर्तामोड नगर कमिटीका अध्यक्ष ज्ञानुराम प्रसाईँ बताउँछन् । जिल्लामा नेकपाका ३२ हजार ८५५ पार्टी सदस्य रहेका कार्यालय सचिव ढुङ्गेलले जानकारी दिए ।

उनका अनुसार तत्कालीन नेकपा एमालेबाट २४ हजार १९८ र तत्कालीन नेकपा माओवादी केन्द्रबाट आठ हजार ६५७ सदस्य नेकपामा समाहित भएका छन् ।