केदार मगर, खोटाङ – सगरमाथा राजमार्गमा पर्ने महुरे–राजापानी सडक गुणस्तरहीन बन्दै गएको छ । कालोपत्रको काम शुरु गरिएको खोटाङ र उदयपुर जोड्ने दिक्तेल–गाईघाट सडकको महुरे–राजापानी खण्डमा कमसल ढुङ्गा, गिट्टी र बालुवा प्रयोग गरिएकाले गुणस्तरहीन बन्दै गएको हो ।


ADVERTISEMENT


निर्माण कम्पनी भारत कन्ट्रक्शन–सिद्धी शाही जेभीले महुरे–सिम्पानी (राजापानी) २२ किलोमीटर खण्डमा गुणस्तरहीन काम भएको भन्दै स्थानीयवासीले यही पुस २३ गते करीब ३० मिटर ड्रेन भत्काइदिएका थिए । महुरेदेखि बुइपा र राजापानीबीचमा सडकको कतिपय मेसेनरी पर्खाल पल्टिएको, भत्किएको, पानीले नभिजाएको, माटो मिसिएको बालुवा प्रयोग गरिएको, बेस पनि कमसल ओछ्याइएको पाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का वडाध्यक्ष दिनेश राईले बताए ।


ADVERTISEMENT

# # #


सडक कालोपत्रको कामका लागि राजापानीको मालास्थित संसारीडाँडाको गिट्टी र साप्सुखोलाको बालुवा प्रयोग गर्ने गरी ल्याव परीक्षण गराएको निर्माण कम्पनीले अन्यत्रै ठाउँको गिट्टी र बालुवा प्रयोग गरिरहेको स्थानीयवासीको आरोप छ । स्थानीयवासीले निगरानी गर्दागर्दै पनि मध्यपहाडी लोकमार्गको महुरेदेखि स्वास्थ्यचौकी बुइपासम्मको करीब २०० मिटर सडक क्षेत्रमा गुणस्तरहीन भएको स्थानीयवासी एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता मिलन राईले बताए।

कालोपत्रको काम शुरु भएपछि दुई वर्षअघि नै गुणस्तरीय काम गर्न भनिए पनि ठेकेदारले बेवास्ता गरेको वडाध्यक्ष राईले बताए । “पाखाको माटोसहितको बालुवा प्रयोग गरिरहेको पाइएपछि वडा कार्यालयबाटै रोक लगाएका थियौँ”, उनले भने, “विरोध गरेजस्तो हुन्छ तर सडकको काम एकदमै गुणस्तरहीन छ, आफ्नो गाउँमा गुणस्तरीय काम होस् भन्ने हाम्रो चाहना हो ।”

भारत कन्ट्रक्शन–सिद्धी शाही जेभीका सहजकर्ता पुष्प शाहीले पनि सडकको संरचना कमजोर बनेको स्वीकार गरे । पहिला खटाइएका कर्मचारीले गुणस्तरहीन काम गराएकाले त्यो संरचना भत्काएर सच्याउने काम भइरहेको उनले बताए । निर्माण कम्पनीको काममा ढिलासुस्ती देखिएको छ । हालसम्म महुरे–सिमपानी (राजापानी) सडकको ३५ प्रतिशत भौतिक र ३३ प्रतिशत वित्तीय प्रगति देखिएको वडाध्यक्ष राईले जानकारी दिए।

करीब रु ९१ करोडको खर्चमा विसं २०७७ साउन ११ गतेसम्ममा पूरा गर्नेगरी विसं २०७३ असार ३० गते सम्झौता गरेर महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रको काम शुरु गरिएको थियो । सिम्पानी भञ्ज्याङ (राजापानी)देखि फोक्सिङटारसम्मको २७ किलोमिटर खण्डको काम भने देवनारायण पवन–मैनाचुली–खाम्पाचे जेभीले जिम्मा लिएको छ ।

तराईका विभिन्न जिल्ला जोड्ने प्रमुख राजमार्गमा पर्ने उक्त सडकको राजापानीदेखि फोक्सिङटारसम्मको २७ किलोमिटर खण्डको काम पनि सुस्त देखिएको छ । उक्त सडक खण्डमा पर्खाल तथा नाली निर्माण र फराकिलो पार्नेबाहेक अन्य काम बाँकी नै रहेको स्थानीयवासीले बताएका छन् ।

दुई वर्षअघि कालोपत्रको काम थालिएको दिक्तेल–गाईघाट सडक समयमा सम्पन्न नहुँदा अहिले धुलाम्मे सडकमा यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । सोही सडक खण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमा निर्माणाधीन पक्की पुलको कामसमेत ठेकेदार कम्पनीको लापरवाहीले सुस्तगतिमा भइरहेको छ ।

फोक्सिङटारमा पक्की पुल नहुँदा दैनिक उपभोग्यवस्तु ढुवानीका लागि प्रमुख सडक मानिने दिक्तेल–गाईघाट सडक करीब छ महिना मात्र सञ्चालन हुन्छ । फोक्सिङटारमा निर्माणाधीन उक्त मोटरेबल पुल समयमा सम्पन्न गर्न ठेकेदार कम्पनीलाई पटक–पटक निर्देशन दिइएको सांसद विशाल भट्टराईले बताए ।